
मलमा कालोबजारी गर्ने एकै गाउँका दुई जना पक्राउ, दुईजनालाई उन्मुक्ति
युरिया मलको कालोबजारी गरेको आरोपमा प्रहरीले एक कृषि फर्मका सञ्चालक र कामदारलाई पक्राउ गरेको छ ।
भीमसेनथापा गाउपालिका १ निबेलको हिमालयन गोरखा एग्रोफर्मका सञ्चालक भक्तप्रसाद श्रेष्ठ र कामदार रेशम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सो फर्मले भण्डारण गरी राखेको ५३ बोरा मल पनि सिल गरेको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । ‘मूल्यसूची टाँस नगरेको, मल बेच्ने नीति र नियम बिपरीत बिक्री गरेको र साबिक कायम गरिएको मूल्यमा अधिक बिक्री गरी प्रतिकिलो ३५ रुपैयाँसम्ममा बेचेको भनेर उजुरी आयो । सूचनाका आधारमा खटिएको विशेष प्रहरीको टोलीले दुईजनालाई नियन्त्रणमा लिई भण्डारण गरी राखेको मल सील गरेको हो’, डिएसपी खटिवडाले भने, ‘उनीहरुविरुद्ध कालोबजार ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरी अनुन्धान प्रक्रिया अघि बढाइएको छ ।’
यसअघि भीमसेन थापा गाउँपालिका वडा नं. १ मै युरिया मल कालोबजारी गरेको फेला परेका दुई ब्यापारीलाई भने जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको थिएन । स्थलगत अनुगमनपछि अनुगमन टोलीले कालोबजारी गरेको भेटिएकाले कारबाही गर्नुपर्ने सिफारिस गरे पनि जिल्ला प्रशासन कार्यालयले कारबाही नगरेको हो ।




