
शहीदलखन ७ वसन्तेगाउँमा दादुराबारे जनचेतना अभियान
नौ महिने शिशुलाई दादुरा संक्रमण देखिएपछि शहीदलखन गाउँपालिका ७ वसन्तेगाउँमा घरदैलो अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, वडा अध्यक्ष शरण श्रेष्ठ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ, बुंकोट स्वास्थ्यचौकी प्रमुख बिमला पुलामी, स्वास्थ्यकर्मी विश्व श्रेष्ठ लगायतको टोलीले घरदैलो अभियान सञ्चालन गरेको हो ।
घरदैलो अभियानमा दादुराको सम्भावित जोखिम, रोकथाम तथा उपचारका उपायहरुको बारेमा जानकारी गराइएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
वसन्तेडाँडाकी महिला स्वास्थ्य स्वयंसेविका सीता श्रेष्ठको नातिनीमा गत चैत १८ गते दादुराको लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सो बच्चालाई दादुरा भएको पुष्टि गरेको थियो । बच्चालाई दादुरा भने सञ्चो भइसकेको र स्वास्थ्य अबस्था सामान्य रहेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाभरि आउँदो सोमबारदेखि दादुरा र रुबेलाको खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।
दादुराको महामारी फैलिएको गण्डकी गाउँपालिकाको वडा नं. ७ क्षेत्रीखोलामा भने जनचेतना कार्यक्रम नगरिएको वडा अध्यक्ष तुलसी रेग्मीले स्वीकार गरेका छन् । शुक्रबारबाट खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।





