
पर्यटन व्यवसायमा लाग्यो कोरोना, धैर्यता नगुमाउन सुझाव
रोल्पा जिल्ला सुनसरी गाउँपालिका वडा नं. १ का ५६ बर्षीय टीका पुनको मुख्य पेशा पर्यटकको भारी बोक्ने हो । भारी बोकेको कमाइले उनका चार जनाको परिबार काठमाडौंको मनमैजुमा पालिएका छन् । पसिनाको कमाइले एकभाइ छोरा ११ कक्षामा र अर्का छोरा नौ कक्षामा पढाएका छन् ।
अहिले काम पाएनन् । कमाइ भएन । अब के खाने, कहाँ बस्ने भन्ने चिन्तामा छन् । ‘घर भाडा नतिरेको दुई महिना भयो । घरबेटीले दिएको एक बोरा चामल, दालले अहिलेसम्म त गुजार चलेको छ’, उनी भन्छन्, ‘अब घरबेटीले भाडा माग्यो भने कसरी दिने, के खाने, कहाँ बस्ने भन्ने पो पीर भो । एक्लो ज्यान भएको भए जता गएर, जे गरेर पनि पालिन्थेँ । चार जनाको पेट कसरी पाल्ने ?’ ५८ सालदेखि भारी बोक्न थालेका पुनले जीन्दगीमा पहिलो पटक यति ठूलो समस्या भोगेको बताउँछन् ।
धार्चे गाउँपालिका ४ लाप्राकका २६ बर्षीय सुरमान गुरुङ पनि पर्यटन क्षेत्रमै छन् । १३ बर्षको उमेरदेखि भरिया हुदै पर्यटन क्षेत्रमा प्रवेश गरेका गुरुङ यसैबर्ष गाइड बन्न सफल भएका थिए । बढुवा भएकै बर्ष काम नपाएपछि उनी निराश भएका छन् । ‘सानै उमेरदेखि भरिया बनेर पर्यटन क्षेत्रमा लागेँ । अरु काम केही पनि गर्न आउँदैन । पर्यटक नआउने भइहाल्यो’, गुरुङ भन्छन्, ‘अब के गरेर आफ्नो र परिबारको पेट पाल्ने ?’ तैपनि लकडाउन खुल्छ र काम पाइन्छ कि भन्ने आशामा रहेको उनी बताउँछन् ।
कोरोना महामारीका कारण यी भरिया र गाइडलाई जस्तै मार पर्यटन क्षेत्रमा लाग्ने धेरैलाई परेको छ । भरिया, शेर्पा, गाइड, कुक, सहयोगीकुक, सरदार, ग्रुप लिडर, ट्रेकिङ तथा ट्राभल एजेन्सी, होटल व्यवसायीहरु समस्यामा परेका छन् ।
लकडाउनले सबैलाई मार परे पनि पर्यटन क्षेत्रलाई दीर्घकालीन मार परेको गोरखाका पर्यटन सद्भावना दूत सुनार गुरुङ बताउँछन् । ‘पहिले देशमा माओवादी द्वन्द्वका कारण पर्यटन क्षेत्र धरासायी बन्यो । केही बर्ष राम्रो हुन थालेको थियो, फेरि भूकम्प गयो । त्यसले पनि नराम्रो असर ग¥यो । फेरि केही राम्रो हुदै आएको थियो, फेरि कोरोनाले मा¥यो’ त्रिनेत्र ट्रेकिङ कम्पनीका सञ्चालक गुरुङ भन्छन्, ‘द्वन्द्व र भूकम्प त नेपालको मात्रै थियो । साम्य भएपछि विदेशी पर्यटक आउन थालेका थिए । कोरोना त विश्वव्यापी छ । सबैको अर्थतन्त्र तहसनहस छ । अनि कसरी विदेशी पर्यटक आउलान् भनेर आशा गर्नु ?’ कोरोना साम्य भएपछि पनि आफ्नै देशको अर्थतन्त्र सुधार गर्न भन्दै आफ्नै यूरोप, अमेरिका जस्ता देशले आन्तरिक भ्रमण मात्र गर्ने रणनीति अपनाउन सक्छन् ।
पर्यटन व्यवसाय अरु व्यवसाय जस्तो बाह्रै महिना नहुने भन्दै उनले मुख्य सिजनमै विश्वव्यापी महामारी फैलिएकोमा उनले दुख ब्यक्त गरे । देश भरका दुई हजार भन्दा धेरै ट्रेकिङ कम्पनीहरु टाट पल्टिने अबस्थामा रहेको भन्दै उनले कम्पनीमा आश्रित हजारौं हजार कर्मचारी, कामदारको हातमुख जोर्ने बाटो गुमेको उनले बताए । ‘पर्यटन क्षेत्रको समस्यालाई सरकारले सम्वेदनशील रुपमा लिएर समाधानको उपाय अपनाउनु पर्छ’, उनी भन्छन्, ‘घरभाडा नलिने भन्ने नीति व्यवहारिक छैन । घरवालाले पनि भाडाबाट उसको गुजारा चलाइरहेको हुन्छ । वैंकको किस्ता तिरेको हुन्छ । भाडा दिन्न भन्न मिल्दैन । बरु व्यवसायीलाई कर छुट दिनुपर्छ ।’ पर्यटन ब्यबसायी बाँचे भने उनीहरुमा आश्रितलाई बचाउने भएकाले सरकारले पहिले त व्यवसायीलाई उठाउने नीति लिनु पर्ने ।
व्यवसायीले पनि धैर्यता र सम्यमता अपनाउनु पर्ने उनको सुझाव छ । ‘चारपाँच बर्षमा फेरि अबस्था सुधार हुने छ । त्यतिबेलासम्म ब्यबसायीले धैर्यता अपनाउनु पर्छ । बैकल्पिक ब्यवसायको पनि खोजी गर्नुपर्छ’, उनले भने ।
नेपाल भ्रमण बर्ष २०२० को आगमनले हौसिएका पर्यटन व्यवसायी कोरोनाका कारण मारमा परेका ट्रेकिङ एजेन्सीज एशोसिएशन(तान)का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् । नेपालको अर्थतन्त्रमा करिब १० प्रतिशत योगदान रहेको पर्यटन व्यवसाय धरासायी हुँदा ब्यवसायी मात्र नभै मुलुकै अर्थतन्त्र डामाडोल हुने उनको तर्क छ । ‘गतबर्ष करिब तीनलाख ५० हजार जना ट्रेकिङ र एक्स्पिडिशनका लाग आएका थिए । यसबर्ष आठलाख आउने विश्वास थियो । त्यही अनुसार व्यसायीले लगानी बढाएका थिए’, उनले भने, ‘तर कोरोनाले अबस्था डामाडोल बनाएको छ । यसबर्ष पर्यटक सुन्य नै भयो । धरासायी भएका व्यवसायीलाई राहत हुने खालको कार्यक्रम घोषणा गर्नुपर्छ ।’
पर्यटन ब्यवसायीलाई दुईबर्षका लागि दुई प्रतिशतमा कर्जा दिनु पर्ने, साना तथा मझौला खालका पर्यटन ब्यवसायीलाई २० लाख रुपैयाँसम्म बिना धितो दुई प्रतिशत व्याजदरमा ऋण दिनुपर्ने उनको सुझाव छ ।
सन २०२१ र सन २०२२ मा पर्यटन व्यवसाय फेरि सुधार हुनसक्ने विश्वास उनले व्यक्त गरे ।




