
स्थानीय तहको सिफारिसमा मात्र रासयनिक मलको कारोबार गर्नुपर्ने
रासयनिक मल आपूर्ति तथा बिक्री वितरण गर्ने कृषि सहकारीहरुले अबदेखि सम्बन्धित स्थानीय तहसँग अनिबार्य रुपमा सिफारिस लिनु पर्ने भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले स्थानीय तहको सिफारिसमा मात्र रासयनिक मलको कारोबार गर्न पाउने निर्णय गरेको कृषि ज्ञानकेन्द्रकी प्रमुख मनिता थापाले जानकारी दिइन् ।
‘जिल्लामा रासयनिक मल आपूर्ति तथा विक्री वितरण गर्न चाहने कृषि सहकारीहरुले सम्बन्धित स्थानीय तहको सिफारिस अनिबार्य रुपमा लिनुपर्ने निर्णय भएको छ’, उनले भनिन्, ‘अबदेखि रासयनिक मल खुद्रा रुपमा बेचबिखन गर्न नपाउने, बोरा फुटाएर खुद्रा रुपमा विक्री बितरण गर्नै पर्ने भएमा स्थानीय तहले तोकेको मूल्यमा मात्र बेचबिखन गर्नुपर्ने निर्णय भएको छ ।’ स्थानीय तहले तोकेको मूल्यमा जिल्ला दररेटअनुसारको ढुवानी दर र लोडअनलोड दर जोडेर मूल्य तोक्नु पर्ने पनि बैठकले निर्णय गरेको छ ।
यदि कुनै व्यवासायीले रासयनिक मल खरिद बिक्री गर्न चाहेमा अनुमति दिने व्यवस्था मिलाउन नीतिगत सुधारका लागि सम्बन्धित मन्त्रालयमा अनुरोध गरी पठाउने निर्णय भएको ज्ञानकेन्द्रकी प्रमुख थापाले बताइन् । बर्षेनी सिजनमा मल अपुग हुने भएकाले पर्याप्त मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई अनुरोध गरी पठाउने निर्णय पनि भएको उनले बताइन् ।




