
गोरखामा अहिलेसम्म ५३६ जनाको कोरोना परीक्षण, रिपोर्ट सबैको नेगेटिभ
गोरखामा बिहिबारसम्म पाँचसय ३६ जनाको कोरोना परीक्षण गरिएको छ ।
आठ गाउँपालिका र दुई नगरपालिकाका चारसय ३४ पुरुष र एकसय दुई जना महिलाको आरडिटी प्रविधिमार्फत कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
परीक्षण गरिएकामध्य सबैको रीपोर्ट नेगेटिभ आएको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए । शंकास्पद देखिएका १० जनाको पिसिआर परीक्षण गरिएको तर उनीहरुको पनि नेगेटिभ आएको उनले बताए ।
गोरखा नगरपालिकामा सबैभन्दा धेरै एकसय ६१ जनाको आरडिटी परीक्षण गरिएको छ । पालुङटार नगरपालिकाको ५३ जनाको, सिरानचोक गाउँपालिकाको ३१ जनाको, अजीरकोट गाउँपालिकाको ३४ जनाको आरडिटी परीक्षण गरिएको थियो । त्यस्तै बारपाक सुलीकोट गाउँपालिकाको ४३ जनाको, धार्चे गाउँपालिकाको ३५ जनाको, चुमनुब्री गाउँपालिकाको ४९ जनाको, आरुघाट गाउँपालिकाको २९ जनाको, भीमसेन थापा गाउँपालिकाको २३ जनाको, शहीद लखन गाउँपालिकाको ४९ जनाको र गण्डकी गाउँपालिकाको २९ जनाको आरडिटी प्रविधिमार्फत कोरोना परीक्षण गरिएको थियो ।
चुमनुब्री गाउँपालिकामा अझै परीक्षण भइरहेकाले सम्पूर्ण नतिजा नआइसकेको कार्यालयले जनाएको छ ।




