
अब रिफरल पेपर बिना एम्बुलेन्स बाहिरिन र डिस्चार्ज पेपरबिना भित्रिन नपाउने
जिल्ला कमाण्डपोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोना बिपद व्यवस्थापन समितिको संयुक्त बैठकले एम्बुलेन्स आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको छ ।
बुधबार सम्पन्न संयुक्त बैठकले रिफरल पेपर बिनाका बिरामी बोकेका एम्बुलेन्सलाई जिल्ला बाहिरिन नदिने र डिस्चार्ज पेपर बिनाका बिरामी बोक्ने एम्बुलेन्सलाई जिल्ला भित्रिन नदिने निर्णय गरेको हो ।
त्यस्तै एम्बुलेन्समा बिरामी कुरुवाको रुपमा दुई जनाभन्दा धेरैलाई रहन नदिने पनि निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
त्यस्तै जिल्ला भित्रिने मुख्य नाकाहरु बेनिघाट, मझुवा देउराली र पालुङटार नाकाबाट साँझ छ बजेदेखि बिहान छ बजेसम्म एम्बुलेन्स र शवबाहनबाहेकका सवारीसाधन चल्न नदिने पनि निर्णय भएको छ । निर्णय कार्यान्वयनका लागि सुरक्षाकर्मीलाई अधिक परिचालन गर्ने र छिमेकी जिल्लाका प्रशासन कार्यालयसंग पनि समन्वय गर्ने निर्णय गरिएको रोकाले जानकारी दिए ।
लकडाउनका बेला जिल्लाबाट ठूलो संख्याका कामदारहरु बाहिरिने र भित्रिने गरेकाले उनीहरुको आवतजावत रोक्ने निर्णय पनि बैठकले गरेको छ ।
बुधबारकै बैठकले जिल्लाभित्र उत्पादन तरकारी मात्र जिल्लामा भित्र्याउने, बाहिरबाट आएका तरकारी रोक्ने निर्णय गरेको सूचना अधिकारी रोकाले जानकारी दिए ।




