| आइतवार, कार्तिक २२, २०८३

शिकार खेल्न दुईदिनको बाटो टाढा गएका देवलका युवाको लडेर मृत्यू

 

शिकार खेल्न जङ्गलमा गएका एक युवाको लडेर मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका ३ देवल गाउँका कान्छा गुरुङको भीरबाट लडेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

३० बर्षका गुरुङको गत चैत ३० गते धार्चे गाउँपालिका वडा नं. १ तिर्पाङडाँडाबाट लडेर घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । उनको साथमा अरु पाँचजना पनि शिकार खेल्न गएका प्रहरीले जनाएको छ ।

सिर्दिबास प्रहरीचौकीका प्रहरी र देवल गाउँका सात जना स्थानीयबासी घटनास्थलतर्फ गएका छन् ।

घटनास्थल फिलिम गाउँबाट मानवबस्तीबिहिन जंगलजंगलै दुईदिनको बाटो टाढा रहेको वडाअध्यक्ष रामकुमार गुरुङले बताए । ‘प्रहरी र गाउँलेहरु खाद्यान्न र भाँडाकुँडा बोकेर घटनास्थलतर्फ गएका छन्’, उनले भने, ‘जहाँ खानेपानी पाइन्छ त्यही खाना बनाएर खानुपर्छ, जहाँ ओढार छ, त्यहीँ सुत्नुपर्छ ।’ उनीहरु चारदिनपछि मात्र फर्कने र विस्तृत विवरण जानकारी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्