
बजारमा अभाव भएका बेला यूएनडिपीले दियो गोरखामा ८० वटा थर्मल गन
पुन निर्माणमा काम गर्दै आएको गैरसरकारी संस्था युएनडिपीले गोरखाका ८ स्थानीय तहलाई ८० वटा (थर्मल गन) ज्वरो नाप्ने उपकरण) सहयोग गरेको छ । आफ्नो कार्यक्षेत्र रहेको ८ वटा पालिकाको वडैपिच्छेका स्वास्थ्य संस्थालाई पुग्ने गरी बितरण गरिएको युएनडिपीका प्रमुख राम सापकोटाले बताए ।
गोरखा नगरपालिकालाई १६ थान, पालुङटार नगरपालिका १४, शहिदलखन १०, आरुघाट १०, गण्डकी ८, धार्चे ८, सिरानचोक ८ र अजिरकोट गाउँपालिकालाई ६ वटा थर्मलगन उपलब्ध गराइएको सापकोटाले जानकारी दिए । ‘पहिल्यै ल्याउने तयारी थियो, सप्लायर्सका कारण केही दिन ढिलो भयो’ उनले भने ‘आजदेखि बितरण सुरु भएको छ, भोली सम्म सबै पालिकामा पुग्छ ।’ अन्य गैरसरकारी संघ संस्था कोरोना बिपत्तीको समयमा गुमनाम भएका बेला युएनडिपीले भने स्थानीय प्रशासन, स्थानीय तह सँगको सहकार्यमा आफ्नो कार्यक्षेत्र रहेको पालिकामा सहयोग गरिरहेको भन्दै स्थानीय तहका प्रमुखहरु खुसी भएका छन् । बजारमा खरिद गर्न धेरै प्रयत्न गर्दा स्थानीय तहले थर्मल गन पाएका थिएनन् ।




