
गोरखा नगरपालिकाका २८ जनाको द्रुत एण्टीबडी परीक्षण(आरडिटी), सबैको रिपोर्ट नेगेटिभ
गोरखा नगरपालिकामा विदेशबाट आएका ४३ जनामध्य २८ जनाको आरडिटी किटमार्फत द्रुत एण्टिबडी परीक्षण गरिएको छ ।
गोरखा अस्पताल, तारानगर स्वास्थ्य चौकी र ताप्ले शहरी स्वास्थ्य केन्द्रमा गरी २८ जनाको आरडिटी किटमार्फत कोरोना भाइरसको परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । परीक्षण गरिएकामध्य सबै जनामा कोरोना भाइरस नभेटिएको कार्यालय प्रमुख विद्या तामाङले जानकारी दिइन् ।
‘गोरखा नगरपालिकामा विदेशबाट आउनेको संख्या ४३ हो । त्यसमध्य गोरखा अस्पतालमा नौ जनाको द्रुत एण्टिबडी परीक्षण गरियो’, तामाङले भनिन्, ‘तारानगर स्वास्थ्यचौकीमा नौ जनाको र ताप्ले शहरी स्वास्थ्य केन्द्रमा १० को आरडिटी परीक्षण गरिएको छ ।’ बाँकी रहेकाको अर्को दिनमा परीक्षण गरिने उनले बताइन् ।
चैत लागेपछि गोरखा नगरपालिका भित्रिएका सबै जना शंकास्पद व्यक्तिको द्रुत एण्टिबडी परीक्षण गर्ने भनेर सूचना गरेपनि १५ जना अनुपस्थित भएकाले उनीहरुका लागि अर्को दिन परीक्षण गर्ने तामाङले जानकारी दिइन् ।
अन्य गाउँपालिकामा भने मंगलबारदेखि टोली गएर परीक्षण गर्ने कार्यक्रम रहेको तामाङको भनाइ छ ।




