
गोरखाको गण्डकी गाउँपालिकामा जोतेर काँक्रोबारी नष्ट
गण्डकी गाउँपालिका ६ खानीखोलाकी धनमाया श्रेष्ठ आफ्नो बारीको काँक्रोको भारी बोकेर बिहान तीनबजे फिस्लिङ बजार गइन् ।
लकडाउनका कारण बाटोमा तगारो हालेका थिए । तगारो हटाउलान् र बजारमा पु¥याउँला भनेर कुर्दाकुर्दै रातीको १० बज्यो । रोइकराई गर्दागर्दै बल्लतल्ल बजारमा त पु¥याईन्, तर गाडी ठप्पै भएकाले उनको काँक्रो किन्न कोही पनि आएनन् ।
‘बाटो छेक्नेहरुको उत्तिकै डर, पुलिसले लखेट्ला भन्ने पनि डर, रोग पो सल्किने हो कि भन्ने पनि डर । डरैडरमा मुसा जस्तो भएर छिरेर बल्लतल्ल फिस्लिङ बजार पुगियो तर गाडी पनि ठप्पै रहेछ, किन्न आउने कोही भएनन्’, उनले भनिन्, ‘१०, १२ भारी थियो । तीनदिनसम्म बोरै फुकाउन पाइएन । तीनदिनपछि हेर्दा त पहेँलपुर भइसकेको थियो । आलु भएको भए, अरुथोक जस्तो भए त भकारी हालेर राख्नुहुथ्यो । पानी भएको जात, थुपारी राख्न पनि नमिल्ने । भीरमा फाल्दियौं ।’ अघिल्लो बर्ष नौ क्वीण्टल बेचेको, अहिले सखापै भएको उनले भनिन् ।
उनले मात्र होइन, खानीखोलाका ११ घर किसानले बेच्ने बेला भएको काँक्रो नष्ट गरिदिएका छन् । ‘कति फाल्यो, फाल्यो । कोही भीरमा लगेर फाल्देको छ । कोही तगारोमा थुपार्दिएको छ । कोही बाख्रालाई, कोही गाईगोरुलाई खान दिएको छ’, अर्की किसान दुर्गा श्रेष्ठ भन्छिन्, ‘कसैले काँक्रोबारीमा बस्तु चराइदिएका छन् । अब के गर्ने त चित्त बुझाउनै पर्ने रहेछ, ज्यान रहे अर्को बर्ष कमाउँला भनेर ।’ यसबर्ष जग्गाको भाडा ३० हजार रुपैयाँ पनि तिर्न नसक्ने उनले बताइन् ।
किसानहरुले यहाँ काँक्रोलगायत तरकारी लगाउन लाखौं रुपैयाँ ऋण लिएका छन् । आम्दानी नहुने भएपछि वैंकको किस्ता पनि तिर्न नसक्ने भन्दै किसानहरु चिन्तित भएका स्थानीय लीलामान श्रेष्ठको भनाइ छ । ‘हामीले व्यवसायिक तरकारी खेती गर्न थालेको नौ दस बर्ष भयो’, उनले भने, ‘प्राय सबै घरले छ सात लाख रुपैयाँ कमाउँथे । तर यस्तो दुर्भाग्य भएको त अहिले नै हो । सबैको वैंकमा ऋण लिएका छन् । ऋण कसरी तिर्ने, परिबार कसरी पाल्ने ?’
गण्डकी गाउँपालिकाको वडा नं. ६, ७ र ८ असाध्यै राम्रो तरकारी खेती हुने ठाउँ भएको तर व्यवस्थापन गर्न नसक्दा किसानहरु मर्कामा परेको गाउँपालिकका अध्यक्ष होमबहादुर राना मगरको भनाइ छ । यहाँका सयौं किसानले उत्पादन गरेको तरकारी काठमाडौंको कालीमाटी तरकारकारी बजारमा बिक्री हुने गरेको तर गाडी नचल्दा सबै किसानको तरकारी खेती खेरा गइरहेको उनले बताए ।




