
अब गोरखा अस्पतालमा आइसीयू सेवा सञ्चालन
गोरखा अस्पतालमा अब आइसियू सेवा सञ्चालन हुने भएको छ ।
कोरोनाको सम्भावित जोखिमलाई मध्यनजरगरी संघ सरकारको संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा आईसीयू सेवा सञ्चालनको प्रक्रिया अघि बढेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
‘गण्डकी प्रदेशमा गोरखा र बाग्लुङ अस्पतालमा आईसीयू सेवा सञ्चालन गर्ने भनेर संघ सरकारले एक–एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ’, उनले भने, ‘कोरोनालाई मध्यनजर गरी सेवा सञ्चालन गर्न लागिएकाले हामी फास्टट्रयाकबाट उपकरणहरु खरिद प्रक्रिया अघि बढाउँछौं ।’ एकहप्ताभित्र सेवा सञ्चालन गर्ने प्रयास गर्ने उनले बताए ।
दुईवटा भेण्टिलेटर जडान गरी चार शैयाको आइएसीयू कक्ष बनाउने अस्पतालको योजना रहेको छ । हाल आवासका लागि प्रयोग भएको भवनमा आइसीयू कक्ष बनाउने अस्पताल व्यवस्थापन समितिले निर्णय गरेको छ ।
आइसीयू सञ्चालन भएपछि गम्भीर अबस्थाका बिरामीलाई पनि गोरखा अस्पतालमै उपचार गर्न सकिने लक्ष्य रहेको सूचना अधिकारी ढकालले जानकारी दिए ।
गोरखा अस्पतालको पुराना भवनहरु सबै भत्काएर नयाँ संरचनाहरु निर्माणाधिन अबस्थामा छन् । नयाँ भवन निर्माण भइसकेपछि आईसियू कक्ष पनि नयाँ भवनमै स्थानान्तरण गरिने अस्पताल सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले जानकारी दिए । साथै अस्पतालमा अहिले भ्याण्टिलेटर पनि जडान भइसकेको उनले बताए ।
साथै प्रदेश सरकारले गोरखा अस्पताललाई पाँच सेट पिपिई सेट प्रदान गरेको छ । यसअघि चौधरी फाउण्डेशनले १४ सेट पिपिई प्रदान गरेको थियो ।




