
लकडाउन सामना गर्दै सिरानचोक गाउँपालिका, भिडियो कन्फरेन्समार्फत कार्यपालिका बैठक
कोरोनाको जोखिम न्यूनिकरण गर्न गाउँपालिकाभर आवतजावत ठप्प पारेको सिरानचोक गाउँपालिकाले कार्यपालिका बैठक पनि भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको छ ।
शुक्रबार दिउसो फेसबुक मेसेञ्जरमार्फत भिडियो कन्फरेन्स(बैठक) गरी चार बुँदे निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
बैठक साँढे १० बजेदेखि साँढे एकबजेसम्म तीनघण्टासम्म चलेको थियो । मोबाइलमा तीन घण्टाका लागि डाटा प्याक लिएर वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु भिडियो कन्फरेन्समा सहभागी भएका अध्यक्ष गुरुङले बताए । ‘आठ जनाभन्दा धेरैजना एकसाथ जोडिन नमिल्ने भएकाले प्राय एउटा भिडियोमा दुई जनाका दरले सहभागी हुनुभएको थियो’, अध्यक्ष गुरुङले भने, ‘वडा नं १ का अध्यक्ष सुकमान गुरुङ, वडा नं ३ का अध्यक्ष बलबहादुर थापा र वडा नं. ८ का अध्यक्ष झटक दवाडीको फेसबुक आईडी थिएन । त्यसैले उहाँहरु कार्यपालिका सदस्यहरुको आइडीबाट कन्फरेन्समा जोडिनु भयो ।’
गाउँपालिकाका अध्यक्ष राजु गुरुङ र वडा नं. ५ का अध्यक्ष सन्तोष गुरुङ एउटै भिडियोमा सहभागी थिए । स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठ, शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र पोखरेल र सामाजिक शाखा प्रमुख शारदा ढकाल आवश्यकता अनुसार अध्यक्षकै भिडियोबाट, उपप्रमुख रीता देवकोटा र वडा नं. ८ का अध्यक्ष झटक दवाडी वडा कार्यालयबाट, वडा नं. १ का अध्यक्ष सुकमान गुरुङ र कार्यपालिका सदस्य मनिता गुरुङ, वडा नं. ३ बाट वडाअध्यक्ष बीरबहादुर थापा र कार्यपालिका सदस्य योगेन्द्र सुनार, ४ का वडाअध्यक्ष दीपक हमाल र कार्यपालिका सदस्य शान्ति कुमाल एउटै भिडियोबाट कन्फरेन्समा सहभागी थिए । वडा नं. दुईका वडाअध्यक्ष ज्ञानेन्द्र गुरुङ, ६ का अध्यक्ष नारायण दानी र ७ का अध्यक्ष वडा कार्यालयबाट कन्फरेन्समा सहभागी थिए ।
कार्यपालिकाका सदसय लक्ष्मी भुजेल र बिमला श्रीमल भने प्राविधिक समस्याका कारण कन्फरेन्समा सहभागी हुन नसकेको गाउँपालिकाले जनाएको छ ।
इन्टरनेट सेवा बिग्रिएको र लकडाउनका कारण मर्मत हुन नसकेका कारण मोबाइल डाटाप्याक लिएर भिडियो कन्फरेन्स गरिएको गाउँपालिकाले जनाएको छ ।
कन्फरेन्सले कोरोना जोखिम न्यूनिकरण, निन्त्रण तथा रोकथाम सम्बन्धी महत्वपूर्ण चार वटा निर्णय गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
कन्फरेन्सले कोरोना प्रतिकार्यका लागि ३५ लाख ५० हजार रुपैयाँको विपद व्यवबस्थापन कोष बनाउने निर्णय गरेको थियो । त्यस्तै गाउँपालिकाभर कार्यरत तीनसय ८६ जना शिक्षकले एकदिन बराबरको तलब सो कोषमा योगदान गर्ने निर्णय गरेको छ । यसअघि वैंकबाट मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएकोमा अब यो परिस्थितिमा वडा कार्यालयबाट नै भत्ता वितरण गर्ने निर्णय गरिएको र राहत वितरण कार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको अध्यक्ष गुरुङले बताए ।
लकडाउनका बेला गाउँलेलाई घरमै बस्न लगाएर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु ह्वार्रह्वार्र हिड्न नसुहाउने भएकाले भिडियो कन्फरेन्सबाट आश्यक निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
वडाअध्यक्षको आसपास रहेका अरु सदस्यहरुले पनि भिडियो कन्फरेन्स हेरेका, सुनेका र बिभिन्न वडाहरुमा भइरहेको लकडाउनका अभ्यासको जानकारी पाएर आफ्नो क्षेत्रको गतिविधिलाई व्यवस्थित बनाउन सहयोग मिलेको वडाअध्यक्ष नारायण दानीले जानकारी दिए । आगामि दिनमा पनि एकै ठाउँमा जुट्न नसकेका बेला भिडियो कन्फरेन्समार्फत निर्णय गर्न सकिने यो अभ्यासले सिकाएको अध्यक्ष गुरुङले जानकारी दिए ।




