| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पताल र गोरखा उद्योग वाणिज्य संघका दुई एम्बुलेन्सलाई कोरोना विशेष बनाइने

गोरखामा सञ्चालित गोरखा अस्पताल र गोरखा उद्योग वाणिज्य संघको स्वामित्वमा रहेका एम्बुलेन्सलाई कोरोनासम्बन्धी विशेष एम्बुलेन्स बनाइने भएको छ । जिल्ला सुरक्षा समिति, कमाण्ड पोष्ट र कोरोना विपद व्यवस्थापन केन्द्रको बुधबार सम्पन्न बैठकले दुई एम्बुलेन्सलाई कोरोनाका बिरामी ओसार्ने गरी विशेषखालको बनाउने निर्णय गरेको हो ।

ती दुई एम्बुलेन्सलाई कोरोना विपद व्यवस्थापन केन्द्रको मापदण्ड अनुसारको संरचना निर्माण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए । ‘कोरोनाका सम्भावित बिरामीलाई राख्ने भाग छुट्टै हुन्छ । चालक र बिरामीका आफन्त बस्ने भाग छुट्टै हुन्छ’, एम्बुलेन्सको संरचना बारे गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट नवीन थापाले भने, ‘यी दुई भागमा एकातर्फको हावा अर्कोतर्फ नछिर्ने सुरक्षित खालको हुन्छ ।’ त्यस्तै एम्बुलेन्समा अक्सिजन सिलिण्डर लगायतका उपकरण जडित हुने उनले बताए ।

कोरोना विशेष एम्बुलेन्सका चालकले पिपिई लगाउने, एन ९५ मास्क लगाउने व्यबस्था हुने पनि उनले बताए ।

दुईवटा एम्बुलेन्सलाई विशेष संरचना जडान गर्न ग्यारेजमा दिइसकेको उनले बताए । केही दिनमा कोरोना विशेष एम्बुलेन्स तयार हुने मेसु थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्