| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्यकर्मीले सुत्केरी र किरियाबाहेकका विदा नपाउने

 

जिल्लामा कार्यरत स्वास्थ्यकर्मी तथा स्वाथ्य क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुत्केरी र किरियाबाहेकका विदा नदिइने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समिति, कमाण्ड पोष्ट तथा कोरोना विपद व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न संयुक्त बैठकले कसैको यसअघि विदा स्वीकृत भएको भए पनि रद्ध गर्न निर्देशन दिने निर्णय भएको हो ।

कोरोना भाइरस(कोभिड १९) को रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि खटिनु पर्ने यो अबस्थामा उनीहरुको राजिनामासमेत स्वीकृत नगर्न निर्देशन दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘निजी क्षेत्र, सामुदायिक क्षेत्र वा विश्वविद्यालय वा शैक्षिक क्षेत्र अन्तर्गत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थलाई कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा तयारी अवस्थामा राख्ने तथा त्यस्ता अस्पताल तथा संस्थामा कार्यरत कर्मचारीलाई सुत्केरी विदा र किरीया विदाबाहेकका अन्य विदा स्वीकृत नगर्न, स्वीकृत भई सकेका विदा समेत रद्ध गरी कर्मचारीलाई तयारी हालतमा राख्न र राजीनामा समेत स्वीकृत नगर्नलाई संक्रामक रोग ऐन २०२० को अधिकार प्रयोग गरी स्थानीय प्रशासनले सम्बन्धित अस्पताल प्रशासन तथा सञ्चालकलाई निर्देशन दिने निर्णय भएको छ’, निर्णयमा उल्लेख गरिएको छ । साथै आइतबार भएको निर्णय अनुसार आइतबार नै सबै अस्पतालहरुलाई निर्देशनात्मक आदेश पठाउने निर्णय भएको छ ।

यदि कसैले निर्देशन अटेरी गरेमा कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा असहयोग गर्ने वा बाधा व्यवधान पु¥याएको ठहर गरी त्यस्ता व्यक्ति वा संस्थालाई संक्रमण रोग ऐन २०२० बमोजिम तत्काल कारवाही गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्