| आइतवार, कार्तिक २२, २०८३

गोरखामा सामुहिक क्वारेण्टाइनमा बस्नेको संख्या जम्मा छ

 

गोरखामा अहिलेसम्म छ जना सामुहिक क्वारेण्टाइनमा रहेका छन् । भारतबाट आएका चार र नेपालकै बिभिन्न जिल्लाबाट आएका दुई जनालाई सामुहिक क्वारेण्टाइनमा राखिएको गाउँपालिकाहरुले जनाएको छ ।

गाउँपालिकाले भारतबाट उद्धार गरी ल्याइएका तीनजनालाई शहीद लखन गाउँपालिका २ आरुबोटस्थित बालज्योति आधारभूत विद्यालयमा राखिएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए । उनीहरुलाई घरमै खाना बनाई ल्याएर खुवाउने गरिएको उनले बताए ।

त्यस्तै बारपाक सुलीकोट २ बारपाक गाउँमा भारतबाट एकजनालाई सामुहिक क्वारेण्टाइनमा राखिएको छ । स्थानीय स्वाथ्यचौकीमा क्वारेण्टाइनमा राखिएको वडाअध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए । उनलाई खाने र सुत्ने प्रबन्ध सोही स्वास्थ्यचौकीमा गरिएको छ ।
गुल्मीबाट फर्केका दुई जनालाई धार्चे ३ उहियाँमा सामुहिक क्वारेण्टाइनमा राखिएको छ । स्थानीय पार्वती आधारभूत विद्यालयमा क्वारेण्टाइनमा राखिएको वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।

उहियाँको चारै दिशामा युवाहरु ड्युटी बसी प्रवेश निषेध गरिएको छ । तर गाउँकै चेलीहरु आएपछि उनीहरुलाई सामुहिक क्वारेण्टाइनमा राख्नेगरी प्रवेश गराइएको गुरुङले बताए ।

गोरखामा विदेशबाट आउनेको संख्या दुईसय ४६ पुगेको छ । चार जनाबाहेक उनीहरु सबै सेल्फक्वारेण्टाइनमा नै छन् ।

सामुहिक क्वारेण्टाइनमा रहनु गोरखाका लागि सुखद पक्ष रहेको क्वारेण्टाइन निर्माण गरेको रणसिँह दल गणका गणपति उज्वल केशी बताउँछन् । ‘क्वारेण्टाइनमा राख्नुपर्ने शंकास्पद बिरामी नहुनु भनेको सुखद पक्ष हो’, उनले भने ।

नेपाली सेनाले गोरखा नगरपालिकामा ५० बेडको र पालुङटार नगरपालिकामा १९ बेडको क्वारेण्टाइन निर्माण गरेको छ । अन्य गाउँपालिकाहरुले पनि विद्यालय तथा अन्य सामुहिक भवनहरुमा सामुहिक क्वारेण्टाइन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्