
औषधी तथा दैनिक उपभोग्य सामान ढुवानीमा नयाँ ब्यबस्था
लकडाउन घोषणालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले औषधि लगायत दैनिक उपभोग्य सामान ढुवानी व्यवस्थित गर्ने निर्णय गरेको छ । कार्यालयले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्न भन्दै लकडाउनभर अत्यावश्यक सामान ढुवानीका लागि सवारीसाधन अनुमति पत्र दिने नयाँ निर्णय गरेको हो ।
औषधी, खाद्यान्न, दाना तथा चल्ला, माछामासु, तरकारीजन्य सामग्री, दूध, ढुवानीका लागि सम्बन्धित कम्पनीले सवारी पास लिनु पर्ने व्यवस्था गरेको छ । उनीहरुले संस्था, पसल, उद्योग दर्ताको प्रमाणपत्रको फोटोकपी, ढुवानी गर्ने सवारी साधनको नम्बर, चालकको लाइसेन्स, सवारी साधनको प्रयोग हुने स्थान, सञ्चालन गर्ने समय अवधि र बिलबुकको फोटोकपी संलग्न गरी निवेदन दिनुपर्ने ब्यबस्था गरेको छ ।
त्यस्तै दूरसञ्चार सेवा, विद्युत सेवा, वैंकिङ(एटिएम) सेवा सञ्चालन तथा मर्मतसम्भारका लागि सवारी साधन चलाउनु परेमा सम्बन्धित कार्यालयको सिफारिस, चालकको नाम, लाइसेन्स, सवारी साधनको नम्बर, प्रयोग हुने स्थान उल्लेख गरी निवेदन दिनुपर्ने ब्यबस्था गरिएको छ ।
त्यस्तै बिरामी, घाइते वा सुत्केरीलाई अस्पताल लानुपर्ने भएमा बिरामीको प्रकृति, अबस्था खुलेको वडा कार्यालयको सिफारिस, अस्पतालको प्रेस्क्रिप्सन, सवारी साधन नंबर, चालकको नाम, लाइसेन्स, बिलबुकको फोटोकपी संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै नजिकको व्यक्तिको मृत्यू भएको ठाउँमा जानका लागि मृतकसंगको नाता खुल्ने वडा कार्यालयको सिफारिस, सम्भव भए मृतकसंगको नाता प्रमाणित, सवारी साधन नंबर, चालकको लाइसेन्स र बिलबुकको फोटो कपि संलग्न गरी निवेदन पेश गर्नुपर्ने व्यबस्था गरिएको छ ।
निवेदन दिनका लागि कार्यालयसम्म धाउनु नपर्ने, dao.gorkha@gmail.com मा इमेल गरेपछि प्रक्रिया पुगेमा अनुमति पाउने व्यवस्था गरिएको छ ।
प्रशासन कार्यालयले निर्माण मजदुरलाई गन्तव्यसम्म जानका लागि दिइँदै आएको अनुमति बुधबारदेखि नदिने पनि निर्णय गरेको छ ।




