
गोरखामा सच्याइका पास्टरद्वारा बिरामीलाई निर्घात कुटपिट
गोरखामा इशाइ धर्मगुरु(पास्टर)द्वारा बिरामीमाथि निर्घात कुटपिट भएको छ । गोरखा नगरपालिका ८ कट्टेलडाँडाकी पास्टर निरमाया परियारद्वारा बिरामी संगीता परियारमाथि बिरामी बिसेक गराउने भन्दै निर्घात कुटपिट भएको हो ।
‘म टाउको दुख्ने, ज्वारो आउने बिरामी भएको थिएँ । अनि मेरो अमाजु पास्टर थिइन् । म ठिक गरिदिन्छु भनेर भुत्याउने, कुट्ने, कोपर्ने, चिथोर्ने गरिन्’, पिडित संगीताले भनिन्, ‘म त क्रिश्चियन पनि होइन । बिहान छ बजेदेखि कुटेको हो । दिउसो एकबजेसम्म कुटिन् ।’ कुटाइले शरीर थिलोथिलो भएको र शरीरभरि चोटपटक लागेको पिडित परियारले बताइन् ।
खपिनसक्नु भएपछि पिडित संगीता पास्टरलाई कारबाही गर्न माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालय धाएकी छन् । उनले आफूमाथि कुटपिट गर्ने पास्टर अमाजुलाई कारबाही गर्न माग गर्दै किटानी जाहेरी पनि दिएकी छन् ।
प्रहरीले भने जाहेरी नपरेको र पारिबारिक समस्या भएकाले आफूआफू मिलेर फर्केको जनाएको छ । ‘उहाँहरु परिबारको सदस्यहरु जम्मा हुनु भयो र आफूआफू मिल्ने समझदारी गरेर फर्कनु भयो’, डिएसपी खतिवडाले भने, ‘यदि उहाँहरुले जाहेरी दिनुभएको भए हामी कानूनी कारबाही गर्नेथियौं । अझै पनि कोही अन्यायमा परेँ भनेर आयो भने हामी जाहेरी लिएर कारबाही प्रक्रिया अघि बढाउनेछौं ।’




