| आइतवार, कार्तिक २२, २०८३

कोरोनाबाट बच्न भन्दै गाउँगाउँमा साबुन र मास्क बितरण सुरु

 

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट सुरक्षित राख्न भन्दै वडा कार्यालय तथा बिभिन्न सामाजिक संघसंस्थाले साबुन तथा मास्क वितरण गर्न थालेका छन् ।

सिरानचोक गाउँपालिका वडा नं. १ केराबारीमा वडा कार्यालयले र भीमसेन थापा गाउँपालिका ७ मा चार वटा सामुदायिक वन उपभोक्ता समूहले साबुन तथा मास्क बाँडेका हुन् ।

सिरानचोक १ मा गठित वडाअध्यक्ष सुकमान गुरुङ संयोजत्वको विपद व्यवस्थापन समन्वय समितिले स्थानीय पाँचसय ६४ घुरधुरीमा दुईदुईवटाका दरले साबुन बितरण गरेको नेकपाका वडा संयोजक उत्तम गुरुङले जानकारी दिए । सबैलाई गरेर दुईहजार चारसय थान मास्क र एकहजार ९२ थान साबुन बितरण गरिएको उनले बताए ।

त्यस्तै भीमसेन थापा गाउँपालिका ७ का चार वटा सामुदायिक वनले वडाभित्रका सबै घरधुरीलाई चारचार वटाका दरले साबुन र परिबार संख्या सबैलाई पुग्ने गरी मास्क बितरण गरिएको छ । भूमेश्वर सामुदायिक वन, गण्डकी सामुदायिक वन, रानीबेल सामुदायिक बन र राम्चे देउराली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कोषको बजेटबाट साबुन र मास्क खरिद गरी स्थानीय सातसय घरधुरीमा वितरण गरेको शिक्षक सञ्जय ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्