
अत्यावश्यक सामग्रीको अभाव भयो ? उद्योग वाणिज्य संघमा फोन गर्नुस्
कोरोना महामारीका कारण उपभोक्तालाई अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघले आइतबारदेखि हेल्पडेस्क सञ्चालन गरेको छ ।
उपभोक्ता र व्यापारी तथा व्यापारी र स्थानीय प्रशासन बीच समन्वय गराउने उद्देश्यले हेल्प डेस्क सञ्चालन गरिएको संघका दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
हेल्पडेस्कमा सम्पर्क गर्न चाहनेहरुले बिहान ११ बजदेखि दुई बजेसम्म ०६४४२०१५६ नम्बरमा फोन गरी सहकार्य गर्न संघले आव्हान गरेको छ । ‘कसैलाई अत्यावश्यक सामग्री चाहियो तर आसपासमा कुनै पसल खुलेका छैनन् । खुलेका भए पनि उपलब्ध हुन सकेन भने हामीलाई टेलिफोन गर्नुभएमा हामी उहाँको पायक पर्ने ठाउँको पसलवालालाई सामान उपलब्ध गराउन आग्रह गर्नेछौं’, उनले भने, ‘त्यति मात्र होइन, कुनै व्यापारीलाई सामान ल्याउनका लागि गाडी चाहियो भने हामी उहाँको गाडीलाई अनुमति दिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्नेछौं ।’
सोमबार बिहानसम्म ११ वटा गाडीको अनुमतिका लागि सिफारिस गरिसकिएको उनले बताए ।




