
गोरखाको मनास्लु क्षेत्रबाट दुईजना अमेरिकी नागरिकको उद्धार
गोरखाबाट दुईजना अमेरिकी नागरिकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका ५ माछाखोलाबाट दुईजना अमेरिकीलाई गाडीमा काठमाण्डौँ पठाइएको छ ।
मनास्लु क्षेत्रमा पदयात्राका क्रममा मुलुकभर ‘लकडाउन’ घोषणा भएपछि उनीहरु अलपत्र परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लकडाउनका कारण उनीहरुसहित उत्तरी गोरखाको मनास्लु क्षेत्र पुगेका ३२ जना पर्यटकको उद्धार गरिसकिएको प्रशाकीय अधिकृत हर्क रोकाले बताए । ‘बुधवारदेखि शनिवारसम्ममा ३२ जना पर्यटकको मनास्लु क्षेत्रबाट उद्धार गरेका छौँ’, रोकाले भने ‘अहिलेसम्म सम्पर्कमा आएका सबैको उद्धार भईसकेको छ ।’ दुई जनालाई हेलिकप्टरबाट र अन्य सबैलाई माछाखोलाबाट गाडीमा काठमाण्डौँ पठाइएको उनले बताए ।
हेलिकप्टरबाट जान चाहनेलाई हेलिकप्टर र गाडीबाट जान चाहनेलाई गाडीबाट उद्वार गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।




