
स्वास्थ्य र खाद्य सामग्रीका कामदारलाई आवतजावत गर्न नरोकिने
जिल्ला स्तरीय कमाण्डपोष्टले स्वास्थ्य तथा खाद्य सामग्रीसम्बन्धी काम गर्ने कामदारलाई निर्वाध हिडडुलको वातावरण बनाएको छ ।
शुक्रबार सम्पन्न कमाण्डपोष्टको बैठकले अत्यावश्यकीय स्वास्थ्य तथा खाद्य बस्तु उत्पादन तथा सप्लाईसम्बन्धी कामदारलाई परिचयपत्रको आधारमा आवतजावत गर्न दिने निर्णय गरेको हो ।
अत्यावश्यक औषधी तथा स्वास्थ्य उपकरण, खाद्यबस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सहकारी तथा निजी उद्योगबाट उत्पादित बस्तुहरु बिलबिजकको आधारमा गन्तव्य(बजार)सम्म जान र फर्कन रोकतोक नगर्ने निर्णय भएको सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
त्यस्तै ती उद्योग कारखानाका कामदारलाई उद्योगले उपलब्ध गराएको परिचय पत्रको आधारमा काममा जान र निवासमा फर्कन पनि रोकतोक नगर्ने निर्णय भएको उनले बताए ।
कामदारलाई मास्क, स्यानिटाइजरको ब्यबस्था भए नभएको, २५ जना भन्दा धेरै कामदारलाई एकै ठाउँमा राखेर काम लगाएको नलगाएको आदि नियमित अनुगमन गर्ने पनि निर्णय भएको छ ।




