
कोरोनाको सम्भावित जोखिम न्यूनिकरण गर्न गण्डकी प्रदेश सरकार सुस्त भयो : सांसद दवाडी
विश्वभर महामारीको रुपमा फैलिरहेको र नेपालमा समेत प्रवेश गरेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न गण्डकी प्रदेश सरकारले तीब्र गतिमा काम गर्न नसकेको प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले आरोप लगाएका छन् ।
तीनमहिनाअघिदेखि छिमेकी राष्ट्र चीनबाट सल्किएको कोरोना भाइरसको डँडेलो विश्वभर फैलिरहेको अबस्थामा पनि यसबाट बच्न गर्नुपर्ने पूर्वतयारी गर्न सरकार कानमा तेल हालेर बसेको उनले बताएका छन् ।
सांसद दवाडीले विज्ञप्ति जारी गरी प्रदेशभित्रका जिल्लाहरुमा रहेका अस्पतालमा उपलब्ध गराउनु पर्ने पिपिई, थर्मोगन, मास्क, स्यानिटाइजर लगायत सुरक्षा सामग्री, अक्सिजन सिलिण्डर, तथा अन्य औषधीलगायतका स्रोतसाधनहरु पर्याप्त उपलब्ध गराउन नसकेको दाबी गरेका छन् । साथै सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई समेत यथासीघ्र सुरक्षा पोशाक उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् ।
विदेशबाट आएर गाउँगाउँमा पुगेका नेपालीहरुको तथ्यांक संकलन गरी उनीहरुलाई सुरक्षितस्थल(क्वारेण्टाइन)मा राख्न तथा निरन्तर स्वास्थ्य परीक्षण गरी उनीहरुको परिबारको र समुदायको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने सांसद दवाडीको माग छ । त्यस्तै श्रमजीवि, न्युन आयस्रोत भएका श्रमजीविहरुलाई गण्डकी प्रदेश सरकारले तत्काल राहतको कार्यक्रम घोषणा गर्न पनि सांसद दवाडीले माग गरेका छन
।
सिँगो विश्वनै कोरोनासँग जुधिरहँदा आफ्नो सुरक्षाका लागि घरभित्र बस्न आग्रह गर्दै उनले संयमता, धैर्यता र सजगता अपनाउन पनि आग्रह गरेका छन् ।




