
गोरखाका सबै पालिकाले क्वारेण्टाइनस्थल तोके, (हेरौँ, कुनकुन पालिकाको क्वारेण्टाइनस्थल कहाँकहाँ ?)
गोरखाका स्थानीय तहहरुले सम्भावित कोरोना संक्रमित राख्नका लागि विद्यालय प्रयोग गर्ने निर्णय गरेका छन् ।
दुई नगरपालिका र नौ गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई क्वारेण्टाइन स्थल बनाएका हुन् ।
पालुङ्टार नगरपालिकाले ठाँटीपोखरीस्थित धर्मावती प्राविलाई क्वारेण्टाइनस्थल बनाएको छ । आशंका गरिएका २० जना बिरामी अट्ने क्वारेण्टाइन स्थल बनाइएको मेयर दीपकबाबु कँडेलले जानकारी दिए । त्यस्तै सिरानचोक गाउँपालिकाले वडा नं. १ चिसापानीको चिसापानीकोट प्रावि, वडा नं. २ को हेल्थपोष्ट, वडा नं. ३ को नमूना सामुदायिक भवन र हर्मी स्रोतकेन्द्र भवनलाई क्वारेण्टाइनस्थल बनाएको छ । त्यस्तै वडा नं. ४ को चोरकाटेस्थित सामुदायिक भवन, वडा नं. ५ को गाउँघर क्लिनिक भवन, वडा नं. ६ को कृषि सहकारीको भवन, वडा नं. ७ को सिम्ले स्वास्थ्य सामुदायिक क्लिनिक र महिला सहकारी भवन र वडा नं. ८ को जौबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई क्वारेण्टाइनस्थल बनाएको छ ।
त्यस्तै अजीरकोट गाउँपालिकाले वडा नं. १ मा धन्सिरा मावि, वडा नं. २ मा भानुज्योति प्राबि केप्रुङ, स्यार्तान निमावि खरिबोट, वडा नं. ३ मा ज्ञानज्योति मावि लप्सीबोट, जीवनज्योति मावि काफलडाँडा, भच्चेक प्रावि र गाउँपालिकाको सभाहललाई क्वारेण्टाइनस्थल बनाएको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए । त्यस्तै वडा नं. ४ को हिमालय मावि झ्याँवा, जीवनज्योति मावि बालुवा, वडा नं. ५ को चतुर्माला मावि र ताराचन्द्र माविलाई क्वारेण्टाइनस्थल बनाएको दवाडीले जानकारी दिए ।
त्यस्तै बारपाक सुलीकोट गाउँपालिकाले वडा नं. १ र २ बारपाक गाउँस्थित महिला समूहको भवन, वडा नं. ३ को माझथर माविको भवन, वडा नं. ४ को हिमालय मावि र दुर्गा मावि, वडा नं. ५ को हेल्थपोष्टको पुरानो भवन, वडा नं. ६ को सूर्यज्योति मावि, वडा नं. ७ को हेल्पोष्टको पुरानो भवन र ८ को भवानी प्राविको भवनलाई क्वारेण्टाइनस्थल बनाइएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।
त्यस्तै चुमनुब्री गाउँपालिकाले सबै वडाको पुरानो स्वास्थ्य चौकी भवनलाई क्वारेण्टाइनस्थल बनाउने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।
आरुघाट गाउँपालिकाले आरुघाट बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई क्वारेण्टाइनस्थल बनाएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानकारी दिए । भीमसेनथापा गाउँपालिकाले वडा नं. १ को बालकल्याण प्रावि र निवेल प्रावि, वडा नं. २ को जनसेवा प्रावि, ३ को नवज्योति मावि, ४ को प्रभात मावि, ५ को रामचन्द्र प्राविलाई क्वारेण्टाइनस्थल बनाएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए । उनकाअनुसार वडा नं. ६ को जनजागृति प्रावि, ७ को सुन्दर प्रावि र वडा नं. ८ महादेवटारको सामुदायिक भवनलाई क्वारेण्टाइनस्थल बनाइएको छ ।
त्यस्तै शहीद लखन गाउँपालिकाले वडा नं. १ बक्राङको महेन्द्रशक्ति मावि, वडा नं. २ र ३ को मनकामना मावि, वडा नं. ४ को सिँजाली मावि, ५ को सिद्धस्थानी मावि र जलदेवी माविलाई क्वारेण्टाइनस्थल बनाएको अध्यक्ष रमेश थापाले जानकारी दिए । थापाका अनुसार वडा नं. ६ को हिमालय मावि र भगवती हिमालय मावि, ७ को शहीदस्मृति मावि, ८ को रामेश्वरी मावि र ९ को जनशक्ति माविलाई क्वारेण्टाइनस्थल बनाइएको छ ।
गण्डकी गाउँपालिकाले पनि वडा नं. १ को विजयाभवानी मावि, २ को ताङ्लिचोक मावि, ३ को भैरवाश्रम मावि, ४ को दीर्गेश्वर मावि, ५ को भगवती मावि, ६ को तोमनडाँडा आधारभूत र वडा नं. ७ र ८ का लागि ज्ञानमार्ग माविलाई क्वारेण्टाइनस्थल बनाइएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए ।
गोरखा नगरपालिका र धार्चे गाउँपालिकाले भने शुक्रबारसम्म क्वारेण्टाइनस्थल तोकेका छैनन् । घरघरमै सेल्फ क्वारेण्टाइनमा बस्नलाई सूचना प्रबाह गरिएको भन्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आइसोलेशनका लागि भू तथा जलाधार कार्यालयलाई प्रस्ताब गरेको बताएका छन् । आवश्यक परेमा गोरखकाली रवर उद्योगको जग्गा प्रयोग गर्न सकिने जानकारी दिए ।




