
दुई स्पेनी नागरिक दुई महिनादेखि गोरखाको घ्याच्चोकमा
कोरोना संक्रमणका कारण अमेरिका, इटलीपछि स्पेन धेरै आक्रान्त छ । त्यहाँ २४ घण्टामा सात १८ जनाले ज्यान गुमाएका छन् ।
त्यहाँका दुई नागरिक अहिले गोरखाको घ्याच्चोकमा रहेका छन् ।
पाउला कार्भिलो निटिओ र लुसिया गाजालो रोट्रिगो गत जनवरी २९ देखि घ्याच्चोकस्थित मंगलबहादुर गुरुङको घरमा बस्ने गरेको अजीरकोट गाउँपालिका १ का वडाअध्यक्ष मनु गुरुङले जानकारी दिए ।
उनीहरु धन्सिरा माविमा अध्ययनरत अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने र विद्यालयमा स्वयंसेवा गर्ने काम गर्दै आएको गुरुङले जानकारी दिए ।
उनीहरु त्यहाँ रहेको बारे जानकारी पाएको तर फिर्ता गराउन सम्भव नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘दुई जना स्पेनी महिला यहाँ रहेको बारे हामीलाई पनि जानकारी भयो । अब यतिबेला फिर्ता गर्न पनि सम्भव भएन । आफू बसेकै घरभित्र सेल्फ क्वारेण्टाइनमा रहन निर्देशन गरेका छौं’, प्रजिअ पौडेलले भने ।




