
विदेशी पर्यटकका कारण उत्तरी गोरखाबासी हैरान
लकडाउनका बेला विदेशी पर्यटक आएर हैरान पारेको मनास्लु पर्यटन पदमार्गका बासिन्दाको गुनासो छ ।
सरकारले गत सोमबारदेखि देशभर लकडाउन घोषणा गरेको छ । तर भ्रमणमा आएका विदेशी पर्यटकका कारण आफ्नो क्षेत्रका बासिन्दा त्रसित भएको माछाखोलाका धनकुमार गुरुङको भनाइ छ ।
बुधबार पनि माछाखोला बजारमा आठ जना विदेशी पर्यटक छन् ।
लकडाउनका बेला घरभित्रै रहन गाउँलेलाई आग्रह गरिरहेका बेला हुलका हुल विदेशी पर्यटक आउँदा सम्हाल्न गाह्रो भएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् ।
‘गाउँलेलाई सम्झाउँदै हिड्ने कि विदेशीलाई फर्काउने बन्दोबस्तमा लाग्ने भनेर हैरान भएको छु’, गुरुङले भने, ‘दिनभरि तीनचार ग्रुपलाई पठाइयो । अहिले पनि दुईवटा होटलमा गरेर आठ जना बाँकी छन् ।’
उनीहरुको अबस्था बारे जानकारी पाएको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उनीहरुलाई काठमाडौं पठाउने ब्यबस्था मिलाउने प्रयास भइरहेको जानकारी दिए ।




