| आइतवार, कार्तिक २२, २०८३

कोरोना परीक्षण गर्न आरुघाट गाउँपालिकाको तीन ठाउँमा हेल्थडेस्क

 

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नागरिकमा रहे नगरहेको बारे परीक्षण गर्न आरुघाट गाउँपालिकाले तीन ठाउँमा आकस्मिक स्वास्थ्य कक्ष सञ्चालन गरेको छ ।

आरुघाट गाउँपालिका प्रवेश गर्ने प्रमुख नाकाहरु आरुघाटस्थित मोटरेबल पुल र त्यहीँ रहेको झोलुङ्गे पुल र आर्खेतमा हेल्थडेस्क राख्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

साथै गाउँपालिकाभर रहेका स्वाथ्य केन्द्रहरुमा पनि यस बारे परीक्षण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिए ।

आरुघाट बजारमा रहेको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा अब्जर्भेशन वार्ड स्थापना गर्ने निर्णय भएको पनि उनले बताए । कोरोना भाइरसको सन्दर्भमा अडियो सामग्री तयार गरी सवारी साधनमा राखेर गाउँपालिकाभर प्रचारप्रसार गरिएको र एफएम रेडियोहरुबाट समेत प्रचारप्रसार गरिएको उनले बताए ।

संक्रमणकालिन अवस्थामा दैनिक उपभोग्य सामग्रीमा कालाबजारी भए नभएको बारे गाउँपालिकाकी उपप्रमुख कल्पना नेपाली नेतृत्वको समूहले बजार अनुगमन गरेको छ । अनुगमन टोलीले म्याद नाघेका खाद्यबस्तुहरु संकलन गरेर नष्ट गरेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्