
माइकिङ गर्दै औषधी बेच्दै हिड्नेहरु पक्राउ
औषधी व्यवसायी संघ गोरखाले गाडीमा माइकिङ गरी औषधी बेच्दै हिड्नेहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।
गोरखा नगरपालिका १० छेपेटार बजारमा आइतबार अनाधिकृत रुपमा औषधी बेच्दै हिड्ने दुईजनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको संघका गोरखा जिल्ला अध्यक्ष संगम श्रेष्ठले जानकारी दिए । उनीहरुको साथबाट ८९ थान सञ्जीवनी मालिस आयल बरामद गरिएको श्रेष्ठले बताए ।
औषधी व्यवस्था बिभागको स्वीकृति बिना, औषधी बिक्रीबितरण गर्दा प्रयोग गर्ने प्यान बिल बिना र स्पष्ट रुपमा एमआरपी नखुलेका औषधी बेच्दै हिडेकाले नियन्त्रणमा लिइएको श्रेष्ठले बताए । ‘अनाधिकृत रुपमा गाडीमा माइकिङ गर्दै औषधी बिक्री बितरण गर्दै हिड्नेलाई हामीले यसअघि पनि नियन्त्रणमा लिएर प्रहरीमा बुझाउने गरेका थियौं’, श्रेष्ठले भने, ‘त्यही सिलसिलामा उनीहरुलाई नियन्त्रणमा लिएका हौं । हामीले बरामद भएको सामानसहित प्रहरीसमक्ष ससम्मान बुझाएका छौं ।’




