| आइतवार, कार्तिक २२, २०८३

कोरोनाको त्रासले गोरखामा धमाधम कार्यक्रम स्थगित हुदै

कोभिड १९(कोरोना भाइरस)को त्रासका कारण गोरखामा पूर्वनिर्धारित कार्यक्रमहरु धमाधम स्थगित भइरहेका छन् ।
भेला जमघट हुने खालका कार्यक्रम नगर्न, नगराउन जिल्ला प्रशासन कार्यालयले समेत आग्रह गरेपछि कार्यक्रम स्थगित गरेको आयोजकहरु बताउँछन् ।

गोरखा चेम्बर अफ कमर्शले शनिबारका लागि निर्धारण गरेको साधारण सभा सूचना जारी गरी तीनदिनअघि स्थगितको घोषणा ग¥यो । त्यस्तै गोरखा उद्योग वाणिज्य संघले आइतबारका लागि आव्हान गरेको ४७ औं स्थापना दिवस समारोह पनि शनिबार सूचना जारी गर्दै स्थगित गरेको जनाएको छ ।

गाउँगाउँमा आयोजना गरिएका कार्यक्रम पनि स्थगित भएका छन् । कृष्णप्रणाली सेवा समिति जिल्ला शाखा तथा कृष्णप्रणामी युवा परिषद जिल्ला शाखाले शुक्रबारदेखि आयोजना गर्न लागेको श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ पनि स्थगित भएको जनाएको छ ।

‘प्रमुख जिल्ला अधिकारीज्यूसंग सुझाव माग्दा एक महिनासम्मका लागि स्थगित गर्न आग्रह गर्नुभयो । अनि आकस्मिक बैठक बसेर साधारण सभा स्थगित ग¥यौ’, चेम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठले भने, ‘एक महिनाभित्रै साधारण सभा गरिसक्नुपर्ने भन्ने पनि केही थिएन । पछि गर्ने सल्लाह गरेका छौं ।’ एक महिनासम्ममा गर्मी बढिसक्ने र भाइरलको त्रास हट्ने अपेक्षा लिइएको उनले बताए ।

महिला संघ जिल्ला समितिले आइतबारको लागी तयार गरेको कार्यक्रम पनि स्थगीत गरिएको संघकी सभापति मनकुमारी गुरुङले जानकारी दिइन् ।

कोरोनाको विश्वव्यापी संक्रमणको सिकार हुनु नपरोस् भनेर गोरखालाई पनि सचेतना अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘कार्यक्रम गर्नुस्, नगर्नुस् भनेर हामीले निर्देशन गर्न मिल्दैन । आग्रह गरिएको हो । उहाँहरुले सहर्ष स्वीकार गरेर कार्यक्रम स्थगित गरेको जानकारी प्राप्त भएको छ’, प्रजिअ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्