
धर्म प्रचार गर्दै आएका दुई जना ताइवानी जिल्ला निश्कासित
बिगत पाँचबर्षदेखि अनाधिकृत रुपमा गोरखामा धर्म प्रचार गर्दै आएका दुईजना ताइवानी नागरिकलाई जिल्ला निश्कासन गरिएको छ ।
बिनजेश भिजा र भ्रमण भिजामा आएर वुद्धधर्म प्रचार गर्ने काम गर्दै आएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबारै जिल्ला निश्कासन गरेको हो ।
ताइवानका ३६ बर्षीय सिनचेङ मेङ र २३ बर्षका ग्वान टिङ उलाई जिल्ला छाड्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘सिनचेङ मेङको काठमाडौंमा होटल रहेछ । तर काठमाडौंमा नबसी गोरखामा धर्म प्रचारमा सक्रिय हुदै आएका रहेछन्’, प्रजिअ पौडेलले भने, ‘अर्का ग्वान टिङलाई पनि उनले लिएर भ्रमण भिजामा ल्याएका रहेछन् । एउटा प्रयोजनका लागि आएर फरक काम गरेको पाइएकाले हामीले जिल्ला छाड्न निर्देशन दिएका हौं ।’ सिनचेङ मेङको काठमाडौंको नयाँ बानेश्वरमा हङजिन नामक होटल रहेको भेटिएको छ ।
उनीहरुले रोहटेपानीस्थित नेपाल मगर संघको माथिल्लो तला मासिक १५ हजार रुपैयाँ भाडा तिर्ने गरी लिएर त्यहाँ धर्म प्रचार गर्ने र चिनियाँ भाषा सिकाउने गर्दै आएको खुलेको छ । उनीहरुले धार्मिक क्रियाकलापमा स्थानीय १५० जनालाई समेटेका पाइएको प्रशासन कार्यालयले जनाएको छ ।




