| बुधबार, भदौ २, २०८३

सुरु भयो गोरखा देखि बारपाक बाईक यात्रा (फोटो फिचर)

गोरखामा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामदेखि बारपाक सम्म आज मोटरसाईकल यात्रा सुरु भएको छ । गोरखा सदरमुकामको ठुलो आगनदेखि सुरु भएको यात्रामा एक ५० मोटरसाईकल सहित मानिसहरु सहभागी भएको आयोजक गोरखा युथ क्लवका अध्यक्ष सुमन गुरुङले बताए ।


यात्राको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सुभारम्भ गरेका हुन् । यात्रा आरम्भ गर्दै उनले भने ‘यसले भ्रमण वर्ष मनाईरहेको सन्र्दभमा गोरखाको प्रचार, प्रसारमा ठुलो मद्धत पुग्नेछ ।’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यात्रामा सहभागीहरुलाई बिदाई गर्दै गोरखा सदरमुकाम र बारपाक जोड्ने गरी भएको यात्राले जिल्लाबासीलाई फाईदा पुग्ने बताए । एसपी ओमप्रसाद अधिकारीले आफ्नो सुरक्षालाई ध्यान दिँदै यात्रामा सहभागी हुन अनुरोध गरे ।


यात्रा गोरखा सदरमुकाम देखि झिंगटे, घ्याम्पेशाल, देउराली, सितागुफा, राङरुङ हुँदै बारपाक पुग्नेछ । बारपाकबाट आईतवार यात्रामा सहभागी टोली फर्कने र गोरखा सदरमुकामको रानीपोखरी परिसरमा समापन कार्यक्रम हुने संयोजक रञ्जितकुमार श्रेष्ठले बताए । यात्राको सुभारम्भका क्रममा गोरखाको सिरानचोक गाउँपालिकाका जेनिस गुरुङलाई सम्मान गरिएको छ । वाईक रियालिटी सो पल्सर डेयर भेन्चर सिजन ४ का बिजेता उनलाई गोरखा युथ क्लवले दोसल्ला र कदर पत्रले सम्मान गरेको हो ।


गोरखा—बारपाक करिब ५४ किलोमिटर छ । करिब ३५ किलोमिटर सडक कच्ची छ । दुर्घटनाको जोखिमलाई ध्यान दिँदै हरेक सहभागीको ५० हजार रुपैयाँको बिमा, मोटरसाईकल मर्मतको ब्यवस्था पनि आयोजकले गरेको छ । सहभागी मध्येबाट गोलाप्रथा गरि पहिलो हुनेलाई एक लाख, दोस्रो ७५ हजार पुरस्कार सहित १० जनालाई हेलमेट उपहार दिने क्लवका सल्हाकार दिपेन्द्र श्रेष्ठले बताए ।


गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, लगायतले यात्रामा आर्थिक सहयोग गरेका छन् । काठमाण्डौँ, पोखरा, चितवन लगायत बिभिन्न ठाउँबाट मोटरसाईकल यात्रामा युवाहरु सहभागी भएका छन् । आज बेलुकी बारपाकमा साँस्कृतीक कार्यक्रम गरिने तय भएको छ । स्थानीय क्लव, समुह र होमस्टेको संयोजनमा यात्रामा सहभागीलाई आबासको ब्यवस्था मिलाइएको छ । स्थानीय कला संस्कृतीको पनि प्रर्दशनी गरिने योजना भएको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्