
बेलायत सँगको सम्बन्धले गोरखा नगरपालिकालाई दीर्घकालीन फाइदा पुग्छ ः मेयर पन्त
गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले गोरखा नगरपालिका र बेलायतको रश्मोरबरो काउन्सिलसँगको सम्बन्धले दीर्घकालीन फाइदा पुग्ने बताएका छन् । दुई साता लामो बेलायत भ्रमण सकेर फर्किएका नगरप्रमुख (मेयर) पन्तले बिहिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै भने ‘आजको आजै फाइदा नदेखिएला तर यसले दीर्घकालीन रुपमा गोरखाको पर्यटन, शिक्षा, स्वास्थ्य र खेलक्षेत्रमा ठुलो मद्धत मिल्नेछ ।’
बेलायको रश्मोरबरो काउन्सील गोरखा नगरपालिका भन्दा बिकास र प्रविधिमा दुई सय वर्ष अगाडि रहेकाले संम्बन्धबाट गोरखाले धेरै फाइदा लिन सक्ने उनले बताए । ‘पहिलो प्राथमिकता पर्यटनलाई दिएका छौँ’, उनले भने, ‘भ्रमणबर्ष सन् २०२० नेपालले मनाइरहँदा बेलायतमा रहेका गोर्खाली र बेलायतबासी यहाँ आउने वातावरण पनि बनेको छ ।’ भगिनी सम्ंबन्ध कायम भएको काउन्सिलबाट जुन महिनाको दोस्रो साता पदाधिकारी गोरखा आउने तयारी गरेका छन् । बेलायत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुसँग भेटघाट, बेलायतस्थित नेपाली दूताबास र उच्चपदस्थ अधिकारीसँगको छलफल महत्वपूर्ण रहेको उनले जानकारी दिए ।
‘हरेक दिनजसो गोरखा नगरको बिकास र फाइदाका लागि के गर्न सकिन्छ भन्ने छलफलमा हामी केन्द्रित भयौँ’, पत्रकार भेटघाटमा नगरप्रमुख पन्तले भने । बेलायतको सहरिकरण, त्यहाँको बिकास, स्वच्छ वातावरण र सरसफाइ, अस्पतालको अवस्था लगायतबारे अवलोकनसँगै सिकाई मिलेको उनले बताए । बेलायतमा रहेका जनसम्पर्क समिति, नेपालीहरु आवद्ध संघ संस्थासँग भेटघाटका क्रममा तमू संग्रहालय निर्माण गर्ने, पर्यटकीय ठाउँको प्रवद्र्धन, पार्क, फिटनेससेन्टर निर्माणगर्ने विषयमा छलफल भएको नगरप्रमुख पन्तले जानकारी दिए ।
बेलायतको उक्त काउन्सिलमा झण्डै १० हजार नेपाली बस्ने र ब्रिटिश गोरखा आर्मीसँगको सम्बन्धका कारण गोरखा नगरपालिकासँगको भगिन संम्बन्धलाई बेलायतले पनि उपलब्धीको रुपमा लिइएको जनाएको छ । नेपाल एकिकरण सुरु भएको ठाउँ, गोर्खा आर्मीको गृहठाउँ भएकाले र उक्त काउन्सीलमा धेरै गोर्खाहरु बस्ने भएकाले संम्बन्धलाई निरन्तर कायम राख्न काउन्सील पनि तयार रहेको नगरप्रमुख पन्तले बताए । अहिले तीन वर्षका लागि साझेदारीमा काम गर्ने सम्झौता भएको छ । ‘त्यसपछि पनि सम्झौता नवीकरण र अझै प्रगाढ हुनेछ’ नगरप्रमुख पन्तले भने ।
पन्तसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा भगिनी सम्बन्धको औपचारिक हस्ताक्षर कार्यक्रममा सहभागी हुन बेलायत गएर गत शनिवार फर्किएका हुन् ।




