| आइतवार, कार्तिक २२, २०८३

गोरखामा करदाता सेवा कार्यालय स्थापना हुने

गोरखामा कर सेवा कार्यालय स्थापना हुने भएको छ । सरकारले २४ वटा जिल्लामा सेवा कार्यालय बिस्तार गर्ने क्रममा गोरखा पनि छनौट भएको हो ।
कार्यालय स्थापना भएपछि कर तिर्नकै लागि गोरखाका उद्यमी, व्यवसायी, कर्मचारी तथा अन्य करदाता दमौली जानु नपर्ने भएको छ ।

आन्तरिक राजस्व कार्यालय दमौली माताहत रहने गरी यही फागुन महिनाभित्रै करदाता सेवा कार्यालय स्थापना हुने आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख सूर्य सेढाईँले जानकारी दिए । कार्यालयमा करदाता दर्ता गर्ने, कर असुली गर्नेलगायत सम्पूर्ण काम हुने उनले बताए ।

‘अडिटबाहेक सवै काम यहीँबाट हुन्छ’, उनले भने, ‘यसले गर्दा गोरखाली करदातालाई करसम्बन्धी कारोबार गर्न धेरै सहज हुनेछ ।’ कार्यालयमा कर अधिकृत, नायव सुब्बा लगायत कर्मचारी रहने उनले बताए ।

गोरखामासंगै लम्जुङमा पनि करदाता कार्यालय रहनेछ । मनाङ र लम्जुङ कार्यक्षेत्र बनाएर बेशीसहरमा कार्यालय स्थापना गर्न लागिएको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ ।

गोरखामा १५ हजार जनाभन्दा धेरै करदाता रहेको कार्यालयले जनाएको छ । गोरखामा नै करदाता सेवा कार्यालय स्थापना भएपछि उनीहरुलाई सहज हुने कार्यालयले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्