| आइतवार, कार्तिक २२, २०८३

विप्लव समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुई जना पक्राउ

 

गतिविधिमा प्रतिवन्ध लगाइएको नेत्रविक्रम चन्द(विप्लव) समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुईजनालाई गोरखाको प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको तुल्सीपुर उपमहानगरपालिका ५ स्थायी घर भई केहीसमयदेखि गोरखामा सो समूहका जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका लोकबहादुर वली(दिनेश) र गण्डकी गाउँपालिका ४ ढावे स्थायी घर भई सो समूहका जिल्ला सदस्य तथा गण्डकी गाउँपालिका इञ्चार्जको जिम्मेवारी सम्हालेका कृष्ण पन्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

शहीदलखन गाउँपालिका ६ घैरुङमा जनयुद्ध दिवस मनाएर फर्कदै गरेको अवस्थामा शुक्रबार देउराली आसपासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लामो समयदेखि खोजीको सूचीमा रहेका उनीहरुलाई लुकिछिपी रहेको अबस्थामा पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

उनीहरुको साथबाट सो समूहको राजनीतिक प्रतिवेदन, पार्टीको झण्डा, चन्दा रसिद प्याड, संकलित चन्दा नगद ३२ हंजार, मोबाइल तीन थान र सिमकार्डहरु बरामद गरी अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्