
बारपाकमा प्याराग्लाईडिङको परीक्षण उँडान
भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा शुक्रबार प्याराग्लाईडिङ परीक्षण गरिएको छ । पोखरामा प्याराग्लाईडिङ गर्दै आएका पाईलटसँगको सहकार्यमा बारपाकका युवाहरुले परीक्षण उडान गरेका स्थानीय खुशी घलेले जानकारी दिए ।
परीक्षणको क्रममा दुईवटा टोली करिब ३० मिनेटसम्म उँडेका थिए । ‘मम्चे डाँडादेखि प्याराग्लाईडिङमा दुई÷दुई जनाको समुहमा उँडेका थिए’, घलेले भने, ‘उनीहरु बारपाक वडा नम्बर १ स्थित बारीमा अवतरण भएका थिए ।’
आधा घण्टासम्म आकासमा सयर गर्दा बारपाकका धेरै घर, रमणीय दृष्य, आसपासका डाँडाकाँडा र हिमालको दृष्य देखिएकाले प्याराग्लाइडिङ उडानका लागि बारपाक अति उत्तम रहेको निश्कर्ष टोलीको रहेको घले बताउँछन् । ‘बारपाकमा प्याराग्लाइडिङ एकदमै सुरक्षित छ’, उनले भने ।
आउँदो फागुन १० गते पृथ्वी क्लव गोरखाले आयोजना गर्न लागेको गोरखादेखि बारपाकसम्मको मोटरसाईकल ¥यालीको अवसर पारेर उक्त दिन पनि प्यराग्लाईडिङ गर्ने योजना रहेको उनले बताए ।




