| सोमवार, कार्तिक २३, २०८३

गाउँमा बालबालिका रित्तिदै, एउटै गाउँका चार विद्यालय बन्द

जराङबाट मसेल हुदै निवेल झर्ने सडकको छेवैमा चिटिक्क परेको विद्यालय भवन छ । बालमैत्री पहेँलो रङ्गरोगन गरिएको, कक्षा कोठासम्म जान अपाङ्गमैत्री संरचना र भवनको पूर्वतर्फ विद्यार्थीका लागि खानेपानीको धारा पनि छ ।
लामो समयदेखि मान्छेले नटेकेकाले आँगनचाहिँ झाडीले ढपक्क ढाकेको छ ।

विद्यालयको ढोका पनि लामै समयदेखि नखुलेको जस्तो देखिने यो हो, बारपाक सुलीकोट गाउँपालिका ८ जराङको हिमचुली आधारभूत विद्यालय । सो भवनभन्दा करिब ७५ मिटर पर यही विद्यालयको दुरुस्तै अर्को भवन छ । भवन मात्र होइन, आँगन र ढोका पनि उस्तै छ ।

भूकम्पपछि आएको वल्र्डभिजन इन्टरनेशनलले गाउँमा दुईवटा विद्यालय भवन निर्माण ग¥यो । तर दुईवटै भवन अहिले बन्द छन् । विद्यालय बन्द भएपछि गाउँ शिक्षा कार्यालयले शिक्षक राजेन्द्र देवकोटालाई सरुवा गरेर शिव प्रावि शिम्भू पठायो । ‘म त राहत दरबन्दीको शिक्षक, स्कूल धेरै टाढा पर्ने हुँदा जागिर छोडेँ र आफ्नै घरमा व्यापार गरेर बसेको छु’, उनी भन्छन् ।

सो विद्यालयको क्षेत्रभित्र ८५ घरधुरी छन् । तर गाउँमा पढ्ने विद्यार्थी नभएको अर्का स्थानीय फडिन्द्र देवकोटा    बताउँछन् । ‘सबै हुनेखाने छन् । बालबच्चा सहरमा लगेर पढा’छन् । गाउँको स्कूल रित्तै भो’, उनी भन्छन्, ‘साउदी, कतार, मलेसिया गएर पैसा कमा’का छन् । श्रीमती छोराछोरी सहराँ’ राखेका छन्, पढा’का छन् ।’

२०५५ सालमा विद्यालय स्थापना गर्दा कुवापानी, पुडासैनीगाउँ, हल्दार गाउँ, देवकोटा गाउँ, पुछारगाउँ, गैरागाउँबाट ४१ जना विद्यार्थी भर्ना भएका थिए । शिक्षा कार्यालयले दुई जना राहत शिक्षक र एकजना इसिडीको सहायक कर्मचारीको दरबन्दी दिएको थियो । तर अहिले बालबालिका नहुँदा विद्यालय बन्द भएको देवकोटाले बताए ।

विद्यालय बन्द भए पनि भूकम्पपछि आएको संस्थाले भवन भने निर्माण गरिछाड्यो । ‘भवन नबनाए बजेट पनि फिर्ता जाने, काम गर्न नसकेको जस्तो देखिने भयो भनेर संस्थाले भवनचाहिँ बनाइदियो’, स्थानीय सुशीला देवकोटा भन्छिन्, ‘आएको बजेट सक्नै पर्ने रहेछ । विद्यार्थी छैनन् भन्ने जान्दाजान्दै स्कूल नचले महिला समूहको अफिस राख्नुस् भनेर संस्थाले भवन बनाएको हो ।’

मासिक दुई हजार रुपैयाँ तिर्ने गरी स्थानीयसंग भवन बनाउने जग्गा भाडा लिएको उनले बताइन् । भवनमा अहिले महिला समूहको सामानहरु राख्ने गरेको उनले बताइन् । बारपाक सुलीकोट गाउँपालिका ८, साबिक पन्द्रुङ गाविसभरि चारवटा विद्यालय बन्द भइसकेका छन् । यहाँ करिब छसय घरधुरी छन् । विद्यार्थी नहुँदा चार वटा बन्द भएको र दुईवटा मात्र चलेका स्थानीयबासी बताउँछन् ।

‘हिमचुली आधारभूत, मण्डली आधारभूत, भवानी आधारभूत र जनजागृति आधारभूत विद्यालय बन्द भए’, स्थानीय राजेन्द्र देवकोटा भन्छन्, ‘व्रह्मचारिणी आधारभूत र थलीबारी आधारभूत विद्यालय मात्र चलेको छ ।’ गाविसभरि एउटा पनि माध्यमिक तहको विद्यालय नभएको उनले बताए ।

‘आठकक्षासम्म चलेको व्रह्मचारिणीमा पनि बढिमा ४०, ५० जना मात्र छन्’, देवकोटा भन्छन्, ‘माध्यमिक तहमा पढ्नलाई कोही मसेल, कोही ताकु, घ्याम्पेशाल, पाँचखुवा देउराली जान्छन् ।’ कोही बसाइँसराइ गरेर सहर जाने र कोही छोराछोरी मात्र पढाउनका लागि सहर जाने हुँदा गाउँमा बालबालिका नभएका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्