
गत बिहिबारदेखि हराएका बुङकोटका थापाको शव भेटियो
दरौँदी समाचारदाता : शहिद लखन गाउँपालिका–७ बुङकोटका ४७ वर्षिय काजिराम थापाको शव फेला परेको छ । थापाको मंगलबार बिहान गोरखा नगरपालिका–९ सल्यानधारामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार थापा गत बिहिबारदेखि परीवारको सम्पर्कमा आएका थिएनन् । ‘उहाँ हराउनु भएको भन्ने जानकारी पाउनु बित्तिकै हामीले खोजी गरिरहेका थियौँ । आज बिहान उहाँको शव फेला परेको छ’, उनले भने, ‘घटनता बारे थप अनुसन्धान भइराखेको छ ।’ थापा गत ९ गते काठमाण्डौँबाट आएपनि घरमा नपुगेपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए ।




