| आइतवार, कार्तिक २२, २०८३

अबैध रुपमा औषधी बेच्नेलाई हामी कारवाही गर्दैनौं : प्रजिअ

प्रचलित नियम कानून लत्याउँदै औषधी बिक्री बितरण गर्नेलाई आफूले कारबाही नगर्ने गोरखाका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले बताएका छन् । नियम बिपरीत औषधी बिक्री बितरण गर्नेलाई नियमन गर्ने निकाय औषधी ब्यबस्था बिभाग भएको दाबी गर्दै प्रजिअ लामिछानेले यस बिषयमा आफू सम्बन्धित नभएको स्पष्ट पारे ।

‘अबैधरुपमा औषधी बिक्री बितरण गर्नेलाई हामीले हैन औषधी ब्यबस्था विभागले नियमन गर्ने हो’, प्रजिअ लामिछानेले भने, ‘मलाई त त्यो विभाग कहाँ छ भन्ने पनि थाहा छैन । सायद पोखरामा होकि ! कारवाहीको बिषयमा उतै सोध्नुस् ।’ गोरखा अस्पताल आसपासका औषधी पसलहरुमा ‘नियम कानून लत्याउँदै प्रेस्क्रिप्सनबिनाका औषधी बेच्दै’ बिषयमा दरौंदी दैनिकमा समाचार प्रकाशन भएको थियो । यस बारेमा आफुले कुनै कारवाही नगर्ने प्रमुख जिल्ला अधिकारी लामिछानेले दाबी गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीले अबैध रुपमा औषधी बिक्री बितरण गर्नु कानुन बिपरीत भएको भन्दै त्यसलाई नियमन गर्न पहल गर्ने आश्वासन दिएका छन् ।   ‘अबैध रुपमा औषधी बिक्री बितरण गरे नगरेको अनुगमन गर्ने काम औषधी ब्यबस्था बिभागले हो । तर, कानुन बिपरीत काम गर्नेलाई हामीले कारवाही गर्न सक्छौँ । यस बिषयमा हामीले थप बुझिरहेका छौँ’ उनले भने ।

दरौँदी पत्रिकाले गरेको एक सर्वेक्षणमा गोरखा अस्पताल वरपर रहेका सिर्जना फर्मेसी, बानियाँ फार्मेसी तथा औषधी पसल र गुडलाइफ फार्मेसीबाट चिकित्सकको प्रेस्क्रिप्सनबिनाका प्रेग्वालिनलगायतका औषधी बिक्री बितरण गर्ने गरेको पाइएको थियो ।

पैसाको प्रलोभनमा बिना सिफारिस प्रतिवन्धित औषधी सहजै किनबेच हुने गरेको तथा त्यस्ता औषधी पाकेटमा अंकित मूल्यभन्दा बढिमा बेच्ने गरेको भेटिएको हो ।

लागु औषध नियन्त्रण ऐन २०३३ को ऐन नं २४ को परिच्छेद २ को ५ को क मा कुनै व्यक्तिले स्वीकृत चिकित्सकको सिफारिस लिई लागु औषधी खरिद गर्न आएमा अनुमति पत्र प्राप्त पसलले त्यस्तो व्यक्तिलाई चिकित्सकको सिफारिस बमोजिम मात्रै उक्त औषधी बिक्री बितरण गर्ने उल्लेख गरिएको छ ।

प्रतिवन्धित औषधी सजिलै पाउने भएपछि लागु औषधको दुव्र्यशनमा लाग्ने युवाको संख्या दिनानुदिन बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्