
मोटरसाइकल दुर्घटनामा परी गोरखाका एक शिक्षकको मृत्यू
गोरखाका एक शिक्षकको मोटरसाइकल दुर्घटनामा परी मृत्यू भएको छ ।
भीमसेनथापा गाउँपालिका ७ पिपलटार घर भई हाल केरौंजा माविमा कार्यरत शिक्षक अर्जुन श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परी सोमबार साँझ नौ बजे मृत्यू भएको सो विद्यालयका प्रधानाध्यापक सुन्दर खनालले जानकारी दिए ।
घर बिदामा आएका श्रेष्ठ आइतबार पिपलटारमा मोटरसाइकलमा कुदिरहँदा सडकबाट ५० मिटर तल खसेका थिए । टाउको लगायतका बिभिन्न अंगमा चोट लागेका उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । सोमबार बेलुका नौ बजे चिकित्सकले मृत घोषणा गरेको प्रअ खनालले जानकारी दिए ।
४२ बर्षका शिक्षक श्रेष्ठ बिगत १३ बर्षदेखि केरौंजा माविमा मावि तहको राहत दरबन्दीमा कार्यरत थिए ।
उनको निधन भएको शोकमा धार्चे गाउँपालिकाभरिका सामुदायिक विद्यालय बन्द गरिएको पनि प्रअ खनालले जानकारी दिए ।




