
नियम कानून लत्याउँदै प्रेस्क्रिप्सनबिनाका औषधी बेच्दै गोरखाका औषधी पसलेहरु
घटना नम्बर १ :
गोरखा अस्पतालको गेटमै रहेको सिर्जना औषधी पसल
युवा : दिदी, प्रेग्वालिन छ ?
औषधी पसले : छ
युवा : दिनुस्, न ।
(पसलेले प्याकेटबाट एकपत्ता प्रेग्वालिन दिन्छिन्)
युवा : कति रुपैँया हो ?
औषधी पसले : एक सय ५० रुपैँया ।
युवा : पूरै प्याकेट पाइन्न ?
औषधी पसले : प्याकेट नै त छैन । किन चाहिएको होर ?
युवा : चाहिएको थियो । छैन र ?
औषधी पसले : प्याकेट नै त छैन ।
युवा : प्याकेट नै नभएको भए भै गो । अन्त कतै पाइन्छ र ?
औषधी पसले : (हिचकिचाउँदै) खै थाहा भएन । सायद तलतिर पाइन्छ कि ?
घटना नम्बर २ :
हस्पिटल चोकमा रहेको बानियाँ फार्मेसी
(खुल्ला रहेको पसलमा बिक्रेता नदेखेपछि एक युवा पसलेलाई फोन गरिरहेका हुन्छन् । फोन गर्दागर्दै अर्का एक युवा र पसले आइपुग्छन् । अर्का ग्राहकले बिक्रेतासँग प्रेग्वालिन किनेर लगिहाल्छन् । त्यो देखिसकेपछि )
अर्का युवा : दाई जोलियम छ ?
बिक्रेता : छैन ।
युवा : प्रेग्वालिन छ ?
बिक्रेता : छ ।
युवा : दिनुस् न ।
बिक्रेता : (प्रेग्वालिनको प्याकेटबाट एक पत्ता निकाल्दै) ‘कतिवटा भाइ ?’
युवा : (केही नवोली बिक्रेताको हातमा रहेको एक पत्ता लिँदै) ‘यसको कति पर्छ ?’
बिक्रेता : दुई सय । (सो पत्तामा ९ वटा ट्याबलेट हुन्छ । जसमा प्रतिट्यावलेट १० रुपैँया लेखिएको हुन्छ ।)
घटना नम्बर ३ :
हस्पिटल चोकमा रहेको गुडलाइफ फार्मेसी
(खुल्ला पसलमा बिक्रेता नदेखेपछि एक युवा पसलेलाई दायाँबायाँ हेरिरहेका हुन्छन् । त्यत्तिकैमा पसले आइपुग्छन् ।)
युवा : दाई प्रेग्वालिन छ ?
बिक्रेता : छैन, प्रिजेट छ ।
युवा : पहिले त पाइन्थ्यो हैन ?
बिक्रेता : हो तर आजभोलि त्यो पाईदैन । प्रिजेट छ यसमा डिकप र स्पार्क मिसाएर खाने गर्छन् । लाने हो ?
युवा : राम्रो हुन्छ त्यो ? खै हेरम ।
बिक्रेता : (प्रिजेटको प्याकेटबाट एक पत्ता निकालेर देखाउँदै) यहि हो । अरुले लगिराछन् क्यारे । कस्तो हुन्छ मलाई नि थाहा छैन ।)
युवा : कहाँबाट ल्याउनु हुन्छ यो ?
बिक्रेता : चितवन, पोखरा, काठमाण्डौँबाट ।
युवा : गाहे हुन्छ नि है यो ल्याउन
बिक्रेता : गाहे हुन्छ नि । खास यो डाक्टरको सिफारिस बिना बिक्री गर्न नै पाईदैन् ।
युवा : (जिस्कँदै), ‘तँपाईले चाँही किन बेच्नु भएको त नि ?’
बिक्रेता : के गर्नु माग्न आउँछन् । हैरान नै गराउँछन् । त्यो किन्दाखेरि अरुअरु नि लान्छन् ।
यी नमूना घटना हुन् । बिरामीका लागि औषधि बिक्री गर्ने गोरखाका यस्ता केही औषधी पसलहरुबाट सिफारिस बिनाका औषधीहरुको अवैध कारोवार हुने गरेको पाइएको छ । सदरमुकाम तथा गाउँका साना औषधी पसलहरुबाट लागुऔषधसमेत कारोबार हुने गरेको पाइएको हो ।
दरौँदी दैनिकले केही दिनदेखि गरेको एक अध्ययनमा गोरखा अस्पतालको पुरानोगेट तथा नयाँगेट आसपासका औषधी पसलबाट खुलेआम प्रेस्क्रिप्सनबिना प्रतिवन्ध लगाइएको औषध किनबेच हुने गरेको भेटिएको हो । पैसाको प्रलोभनमा बिना सिफारिस प्रतिवन्धित औषधी सहजै किनबेच हुने गरेको तथा त्यस्ता औषधी पाकेटमा अंकित मूल्यभन्दा बढिमा बेच्ने गरेको भेटिएको छ ।
लागु औषध नियन्त्रण ऐन २०३३ को ऐन नं २४ को परिच्छेद २ को ५ को क मा कुनै व्यक्तिले स्वीकृत चिकित्सकको सिफारिस लिई लागु औषध खरिद गर्न आएमा अनुमति पत्र प्राप्त पसलले त्यस्तो व्यक्तिलाई चिकित्सकको सिफारिस बमोजिम लागु औषध बिक्री गर्ने र बिक्री गरिसकेपछि सो कुरा चिकित्सकको सिफारिसमा जनाइदिनु पर्ने उल्लेख गरिएको छ ।
तर, गोरखाका केही औषधी पसलेहरुले मुलुकमा प्रचलित ऐन कानून तथा नियमावली लत्याउँदै मापदण्ड बिपरीत प्रेस्क्रिप्सनबिना बेच्न नपाइने प्रतिवन्धित औषधी बिक्री बितरण गरिरहेका छन् । प्रतिवन्धित औषधी सजिलै पाउने भएपछि लागु औषधको दुव्र्यशनमा लाग्ने युवाको संख्या दिनानुदिन बढिरहेको छ ।
लेखक अश्विन दानी ।




