
सडकबाट मानव सेवा आश्रम पुगे अम्बरबहादुर, फेरियो दैनिकी
अश्विन दानी ः थोत्रो पाईन्ट, अनि च्यात्तिएको ज्याकेट, साथमा झुत्रो ओड्ने कम्मल । सेताम्य कपाल फुलिसकेको वृद्ध उमेरका अम्मरबहादुर गुरुङ लुगलुग आङ काप्ने जाडोमा सडक त कहिले पाटीमा रात बिताउँदै आएको धेरै समय भयो । अधिकांस दिन अरुको भारी बोक्न पाउने आशमा गोरखा बजार चाहर्दैमा उनलको दिन बित्थ्यो । भारी बोकेको दिन त्यही पैसाले जे आउँछ त्यही किनेर खाने । भारी बोक्न नपाएको दिन भोकै । उनलाई देख्ने जो कोहीलाई लाग्दो हो, ‘को रहेछन् यो मान्छे ? कहाँ होलान् यीनका आफन्त ?’ । तर, उनको दुख देखेर एक छाक खान दिएपनि सँधै सहयोग गर्ने कोही थिएनन् । कसैले उनलाई परिवारको बारेमा सोधिहाले भने कहिलेकसो उत्तर दिन्थेँ, ‘मेरो आफ्नो भन्ने कोही छैनन् ।’ तर उनी खासै बोल्दैन थिए । बिहान बेलुकीको छाक टार्न धौ धौ उनलाई बिरामी पर्दा उपचार गरिदिने पनि कोही थिएनन् । दुखसुख गरेर कमाएको पैसाले खानेकुरा सँगै मदिरा पिएर बेसुरले एक्लै कराउँदै सडकमा हिँड्थे । बारपाक सुलिकोट गाउँपालिका रन्चोक घर बताउने अन्दाजी ६० बर्षिय गुरुङको दैनिकी गोरखा बजार डुल्दैमा बितेको वर्षौँ भयो । अब भने गुरुङको दिनचार्य फेरिने भएको छ । मानव सेवा आश्रमले उनको उद्धार गरेपछि दिनचर्या मंगलवारदेखि नै फेरिएको छ । मंगलवार गुरुङलाई गोरखा सदरमुकामबाटै मानवसेवा आश्रमका टोली, गोनपा—७ का जनप्रतिनिधी र अन्य समाजसेवी हरुको उपस्थितिमा उद्धार गरि संरक्षणका लागि मानव सेवा आश्रम शाखा कार्यलय चितवनमा पठाईएको छ । ‘उहाँ धेरै बर्षदेखि गोरखा बजारमा भारी बोकेर जीवन यापन गरिरहनु हुन्थ्यो । बिगतमा पनि हामीले उहाँको उद्धार गर्न धेरै प्रयास गरेका हौँ तर मान्नु हुन्थेन’ मानव सेवा आश्रम गोरखाकी ब्यबस्थापक मुना लामाले भनिन्, ‘लामो समयसम्म सार्वजनिक स्थलहरुमा जीवन विताईरहेकाले होला उहाँ मनोरोगको सिकार हुनुहन्छ, बाटोमा एक्लै हाँस्दै बोल्दै हिँड्नु हुन्थ्यो,धेरै प्रयास गरेपछि हामीले उहाँको उद्धार गर्न सफल भएका छौँ’, उनले भनिन् ।




