
खच्चडले बोक्न मिल्ने सामान हेलिकोप्टरलाई बोक्न नदिने निर्णय
उत्तरी गोरखामा सञ्चालित करिब तीनहजार खच्चडलाई काम दिनका लागि खच्चड ब्यवसायी समिति गोरखाले बिभिन्न निर्णयहरु गरेको छ । शनिबार सम्पन्न समितिको भेलाले खच्चडले बोक्न मिल्ने सामान ढुवानी गर्न हेलिकोप्टर प्रयोग नगर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय गरेको छ । साना, ठूला सबैखाले सामान हेलिकोप्टरले ढुवानी गर्दा खच्चड ब्यबसायीको ब्यवसाय धरापमा पर्ने भन्दै ब्यवसायीले त्यस्तो निर्णय गरेको समितिका अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए ।
त्यस्तै भेलाले मनाङ जिल्लाबाहेक बाहिरजिल्लाबाट खच्चड बेच्न आउने ब्यापारीलाई प्रतिवन्ध लगाउने पनि निर्णय गरेको छ । हाल मौजुदा खच्चडले काम पाउन गाह्रो भइरहेको अबस्थामा खच्चड ब्यवसायीले जथाभावी खच्चड बिक्री गर्न आउने गरेकाले उनीहरुलाई रोक लगाउने निर्णय गरेको गुरुङले जानकारी दिए ।
मनास्लु पर्यटन पदमार्गमा पर्ने बजार क्षेत्रहरुमा खच्चड स्टेशन नबनाउने, यसअघि बजार क्षेत्रभित्र रहेका खच्चड स्टेशनलाई बजारबाट केही पर पुनस्थापित गर्ने निर्णय भएको छ । जथाभावी खच्चड स्टेशन बनाउँदा पदमार्ग र बजार क्षेत्र प्रदुषित हुने भएकाले व्यवस्थित बनाउने निर्णय भएको पनि अध्यक्ष गुरुङले जानकारी दिए ।
शनिबार सम्पन्न भेलाले खच्चड मजदुरलाई बाटोमा खाना खाँदा अरुलाई भन्दा २० प्रतिशत कम मूल्य लिन होटल ब्यवसायीलाई अनुरोध गर्ने पनि निर्णय भएको छ । अपांग, बिरामी तथा घाइते खच्चडलाई संरक्षण गर्न गाउँपालिकाले सेल्टर बनाउने निर्णय गरेकाले सो काममा सहकार्य गर्ने पनि भेलाले निर्णय गरेको छ ।
खच्चड ब्यवसायी र मजदुरको बिमा गर्ने निर्णय पनि भएको अध्यक्ष गुरुङले जानकारी दिए । साथै शनिबार सम्पन्न भेलाले ढुवानी दररेट पनि निर्धारण गरेको छ ।
उत्तरी गोरखामा तीनहजार खच्चड र दुईसय दुईजना खच्चड ब्यवसायी रहेका छन् । शनिबार माछाखोलामा सम्पन्न भेलामा ९० जना व्यवसायी सहभागी थिए ।
भेलाले यसअघिका अध्यक्ष धनकुमारको अध्यक्षतामा ११ सदस्यीय समिति पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा दोर्जे लामा, कोषाध्यक्षमा ऋषि थापा मगर र सहसचिवमा सञ्जय गुरुङ रहेका छन् ।





