
प्रहरी कार्यालयको मुख्यगेटमा वाणिज्य वैंकको एटिएम सेवा सञ्चालन
राष्ट्रिय वाणिज्य वैंक, गोरखाले जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा एटीएम सेवा सञ्चालन गरेको छ ।
सोमबारदेखि एटिएम सेवा सञ्चालन गरेको वैंकका सहायक प्रवन्धक सुजन क्यापछाकी मगरले जानकारी दिए ।
ड्युटीमा रहेका प्रहरीका सकल दर्जालाई नजिकैबाट बैंकिङ सेवा दिने मुख्य उद्देश्यले मूलगेटमै एटिएम सञ्चालन गरेको उनले बताए । ‘प्रहरीहरु बसपार्कमा रहेको हाम्रो शाखाको एटिएममा लाइन बस्ने गर्नुहुन्थ्यो’, सहायक मेनेजर मगरले भने, ‘अबदेखि त्यस्तो बाध्यात्मक अबस्था नआओस् भनेर प्रहरीको गेटमै एटिएम सेवा सञ्चालन गरेका हौ ।ं’ प्रहरी कार्यालय तथा अन्य कार्यालयहरुमा काम विशेषले पुगेका सर्बसाधारण नागरिकले पनि पैसा झिक्ने सेवा पाउन् भन्ने उद्देश्यले सो ठाउँमा एटिएम सञ्चालन गरेको उनले बताए ।
यसअघि वाणिज्य वैंकले जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्शन काउण्टर पनि सञ्चालन गरेको थियो । अब राजस्व तथा अन्य प्रयोजनका लागि नगद जम्मा गर्ने र भुक्तानी लिने सेवा कार्यालय क्षेत्रभित्रै उपलब्ध गराएको वैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य वैंकले गोरखा क्याम्पसमा नवनिर्मित प्राथमिक उपचार कक्षमा बिभिन्न उपचार सामग्रीहरु पनि प्रदान गरेको छ । बिरामीका लागि शैया, स्लाइन स्ट्याण्ड, प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको वैंकले जनाएको छ ।
त्यस्तै वैंकले द्रव्यशाह बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । नयाँ पुस्तालाई वैंकिङ कारोबारबाट हुने आर्थिक पारदर्शिता तथा अन्य सुविधाको बिषयमा जानकारी गराउने उद्देश्यले सोमबार सो क्याम्पसमा सचेतना कार्यक्रम गरिएको सहायक प्रबन्धक सुजन क्यापछाकी मगरले बताए ।
कार्यक्रममा बिबिएस तहका ६० जनाभन्दा धेरै विद्यार्थी सहभागी थिए । ‘गोरखाको बिभिन्न ठाउँमा त्रैमासिक रुपमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार द्रव्यशाह बहुमुखी क्याम्पसमा यस्तो कार्यक्रम गरिएको हो’, उनले भने, ‘वैंकमा खाता सञ्चालन गर्ने र हरेक आर्थिक कारोबार वैंक मार्फत गर्ने बानी बसाल्नका लागि यस्तो कार्यक्रम गरिएको हो ।’ वैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वित्तीय सचेतना कार्यक्रम गरिएको उनले बताए ।




