| आइतवार, कार्तिक २२, २०८३

च्याप्प समाउदै कर्जा भिडाउने लघुवित्तलाई कारबाही हुन्छ : गभर्नर नेपाल

 

अव्यवस्थित ढंगले कर्जा प्रबाह गर्ने लघुवित्तीय संस्थाहरुलाई कारबाही गर्ने नेपाल राष्ट्रवैंकका गभर्नर चीरञ्जिवी नेपालले चेतावनी दिएका छन् । देशभरि लघुवित्तहरुले अहिले जथाभावी कर्जा प्रबाह गरिरहेकोप्रति आपत्ति जनाउँदै बेलगाम कर्जा प्रबाह गरिरहे नछाड्ने चेतावनी दिए ।
‘अहिले लघुवित्तीय संस्थाहरुले गाउँगाउँमा जाने, जहाँ मान्छे भेट्यो, च्याप्प समात्यो अनि कर्जा बाँड्ने गरिरहेका छन्’, उद्योग बाणिज्य संघ गोरखाले शनिवार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘खरबार, यो देशमा नेपाल राष्ट्र वैंक छ । बेलगाम एउटै मान्छेलाई १० थरी लघुवित्तले कर्जा प्रबाह गरेको भेटिएमा राष्ट्रवैंकले कुनै हालतमा छाड्ने छैन ।’

गाउँगाउँ, घरघर चहारिरहेका लघुवित्तहरुको गतिविधिलाई स्थानीय सरकारले पनि खबरदारी गरिरहनु पर्ने उनको सुझाव छ ।

तर राष्ट्रवैँकबाट क बर्ग, ख वर्गका इजाजत पाएका वैँकहरुले आवश्यक कागजात पुगेका ग्राहकलाई पनि कर्जा प्रबाह नगर्ने, ढिला गर्ने गरिरहेकोप्रति आपत्ति जनाए । आवश्यक काजगात तयार गरेका र प्रक्रिया पूरा गरेका ग्राहकलाई ऋण लगानी नगर्ने बैंकलाई कारवाही गर्ने उनले चेतावनी दिए । ‘कागजात सबै पेश गर्नुहोस्, ऋण नदिए राष्ट्रबैंकमा भन्नुहोस्, म कारवाही गर्छु’, गभर्नर नेपालले भने, ‘कसैलाई असजिलो नपार्ने गरी सरल तरिकाले कर्जा सेवा दिनू । कसैलाई अप्ठ्यारो पारेको थाहा पाएमा हामी कारबाही गर्छौं । राष्ट्र वैंकको कामै त्यही हो ।’

मुलुकको अर्थतन्त्र तीब्ररुपमा अगाडि बढिरहेको बताउँदै गर्भनर नेपालले भुकम्पअघि ५ .१ प्रतिशत रहेको आर्थिक वृद्धिदर तीनवर्षयता लगातार ७ प्रतिशत पुगेको तर्क गरे ।

अहिले नेपाली बजारमा तीन सय अर्व लगानी रहेको बताउँदै उनले देशको अर्थतन्त्र हेरेर अघि बढ्न ब्यापारी ब्यवशायीलाई अनुरोध गरे । ऋण मात्रै लिएर नहुने भन्दै उनले ऋणको सदुपयोग गहुनुपर्नेमा जोड दिए । भने ‘ऋण पाएँ भनेर रमाउने मात्रै होइन, त्यो ऋणले के काम गर्ने हो, त्यससम्बन्धी योजना पनि हुनुपर्छ’, उनले भने ।

बैंकहरुले नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वको क्षेत्रमा अनिबार्य रुपमा खर्च गर्नुपर्ने गभर्नर नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्