
दुर्गममा फोन सेवाको अति धेरै महत्व
गोरखाको दुई ठाउँमा नेपाल टेलिकमले टावर बनाउने आश्वासन दिएर लामो समयदेखि काम गरेको छैन । चुमनुब्री गाउँपालिका ३ न्याकमा टावर बनाउन काम सुरु गरेर झण्डै एकबर्षदेखि अलपत्र पारेर छोडेको छ । धार्चे गाउँपालिका ३ उहियामा पनि टावर बनाएर सेवा प्रबाह नगरी महिनौ अल्मल्याइरहेको छ ।
दुर्गम ठाउँमा टेलिफोन सेवा प्रदायक नीजि कम्पनीहरु जाँदैनन् । सहरमा मात्र ब्यापार गरी बस्छन् । सरकारी लगानी समेत रहेको नेपाल टेलिकमले दुर्गम ठाउँहरुमा सेवा दिइरहेको छ तर कतिपय ठाउँमा सेवा छैन । उहिया र न्याक यसका उदाहरणहरु हुन् ।
गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत चुमतर्फ स्काइ फोन मात्र छ, नमस्ते फोनको सेवा छैन । नुब्रीतर्फ पनि गाउँपालिकाको केन्द्र सिर्दिबास र वडा नं. १ सामागाउँमा स्काइ फोन मात्र छ, नमस्ते सेवा छैन ।न्याक जस्तो धेरै बस्ती छन्, जहाँ टेलिफोनको पहुँच छैन । साम्दो, दुङ्ला, तातोपानी, दोभान त्यस्ता गाउँका उदाहरणहरु हुन् । ती गाउँहरुमा हातहातमा मोबाइल त छ, तर बत्ती बाल्न, गीत सुन्न, भिडियो हेर्न, गेम खेल्नका लागि मात्र प्रयोग हुने गरेका छन् ।
नेपाल टेलिकमले दुर्गम गाउँहरुका लागि मोबाइल सेवा सर्बसुलभ बनाउनु पर्छ । दुर्गम गाउँमा बिभिन्न खालका दुर्घटनाहरु हुन सक्छन् । सडक सञ्चालले नजोडेको, यातायातका साधन नपुग्ने त्यस्तो ठाउँमा तत्काल उद्धार कार्य गर्नका लागि पनि सदरमुकाम वा राजधानीमा सञ्चार संपर्क स्थापित गर्न फोन सेवा अति जरुरी हुन्छ । त्यसैले त्यस्ता गाउँमा यथासीघ्र फोन सेवा दिनुपर्छ ।




