| आइतवार, कार्तिक २२, २०८३

गोरखामा भीमसेन थापाको सालिक स्थापना, सालिक पर्यटनमन्त्रीद्वारा अनावरण गरिने

गोरखा नगरपालिका ४ पिपलथोकमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिक स्थापना गरिएको छ ।

भीमसेन थापाको जन्मस्थल भनेर प्रसिद्ध पिपलथोकमा नवनिर्मित सालिक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनावरण गर्ने भएका हुन् । गोरखा नगर पालिकाले स्थापना गरेको सालिक पुस ५ गते एक समारोह आयोजना गरी अनावरण गर्न लागेको नगरप्रमुख राजन राज पन्तले बताए । सो सालिक २० लाख रुपैयाँमा नविन आर्टले निर्माण गरेको हो । ।

दुई महिनाअघि राखिएको सालिक यस अघि अनावरण गर्ने योजना रहेपनि मन्त्रीको समय नमिल्दा ढिला भएको थियो । सालिक अनावरणको दिन पिपलथोकदेखि भिमसेन पार्कसम्म बिभिन्न जाति, धर्म, संस्कृति झल्कने भेषभुषाका झाँकी प्रर्दशन गरिनेछ । भीमसेन पार्कसम्म जाने सडक स्तरोन्नति, पूर्वाधार बिकास गरेर त्यहाँका स्थानीयको जिवनस्तर उकास्न नगरपालिकाले थप योजना बनाउने नगरप्रमुख पन्तले बताए । पुस पाँच गते सबै कार्यक्रम भब्य रुपमा सफल बनाउन र पर्यटन मन्त्रीको स्वागतका लागि नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ ।

सो कार्यक्रममा सहभागी हुन गोरखा आएका बेला मन्त्री भट्टराईले गोरखा संग्रहालय र गोरखा दरवारको पुनर्निर्माणको अवस्थाबारेमा अवलोकन गराउने कार्यक्रम राखिएको नगरप्रमुख राजनराज पन्तले बताए । मन्त्री आएपछि गोरखाको पर्यटन विकासमा विशेष टेवा पुग्ने र गोरखा दरबार पुनर्निर्माणले गति लिने मेयर पन्तले विश्वास ब्यक्त गरे ।

‘मन्त्रीज्यू आएपछि गोरखा दरवारको पुनर्निर्माणले गति लिनेछ भन्ने अपेक्षा गरेका छौँ’, उनले भने, ‘नेपालको उद्गम थलो गोरखामा पर्यटनको प्रचुर सम्भावना छ । गोरखनाथ, गोरखकाली जस्ता धार्मिक स्थल छन् । यिनीहरुको प्रवद्र्धन र संवद्र्धन गरी पर्यटन विकासमा मन्त्रीज्यूले जोड दिनुहुनेछ भन्ने विश्वास छ ।’

धार्मिक तथा ऐतिहासिक सम्पदालाई जोडेर गोरखालाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने योजना रहेको बताए ।


भिमसेन थापा पार्क गोरखा दरबारबाट नजिक पर्ने भएकाले गोरखकाली मन्दिर पुगेका पर्यटक त्यहाँ सम्म पुग्न सजिलो छ । गोरखा सदरमुकामको बसपार्कबाट करिब पाँच किलोमिटर दुरीमा रहेको पार्क सम्म साना सवारी साधन सहजै पुग्छ । त्यहाँबाट हिमाल र समथर फाँटहरु देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्