| आइतवार, कार्तिक २२, २०८३

अबुवा–बिर्दीसेरा सडकको कालोपत्रे एक हप्तामै उप्कियो

 

गोरखा नगरपालिका १३ अबुवादेखि आठसय मिटरसम्म गरिएको सडक कालोपत्रे एकहप्ता नबित्दै उप्किएको छ । गुणस्तरहीन कालोपत्रे गरेका कारण एकहप्ताभित्रै सडकमा खाल्डैखाल्डा परेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् ।

गत शुक्रबार र बुधबार राती गरिएको कालोपत्रे सवारी साधन चल्न नपाउँदै उप्किएको सडकका उपभोक्ता दिपक अधिकारीले बताए । ‘सुरुको खण्डमा राम्रोसँग काम भएको थियो । त्यसपछि जति परपर गयो, त्यति झारा टार्ने काम भयो’, पालुङटार ९ बिर्दी निबासी अधिकारीले भने, ‘एक महिना नबित्दै कालोपत्रे उप्किएपछि चारदिनदेखि गाडी चल्न पनि रोक लगाइएको छ ।’ चितवनमा तयार गरेर ल्याइएको अलकत्रा बिछ्याउँदा तापक्रम नमिलेर उप्किएको हुनसक्ने अनुमान स्थानीयको छ । अबुवा नजिकको खण्डमा त्यहाँ नै अलकत्रा पकाएर कालोपत्रे भएको थियो भने करिब चारसय मिटरपछि चितवनमा तयार गरेर ल्याएको अलकत्रा बिछ्याइएको थियो ।

गण्डकी प्रदेश अन्तर्गतको पूर्वाधार बिकास कार्यालय लमजुङले करिब ७० लाख रुपैयाँ लागतमा उक्त सडकको ठेक्का लगाएको हो । प्रजिल कन्स्टूक्सन ललितपुरले २०७५ फागुनमा अबुवादेखि आठसय मिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको थियो ।

२०७६ असारसम्म सिध्याउनुपर्ने उक्त सडकको काम समयमै सम्पन्न नभएपछि छ महिना भ्याद थप गरिएको पूर्वाधार बिकास कार्यालयका इन्जिनियर प्रल्हाद लामिछानेले बताए । कालोपत्रे गरिएको सडक ओसिलो ठाउँमा भएको, तापक्रम नमिलाएका कारण कालोपत्रे उप्किएको हुन सक्ने उनले अनुमान गरे । उनले ओसिलोका कारण कालोपत्रे सेट नभएको दाबी गरेपनि स्थानीयबासी ले भने गुणस्तरहीन कालोपत्रे गरेका कारण कालोपत्रे उप्किएको दाबी गरेका छन् ।

‘मंसीर २० गते पनि मान्छे सबै गाउँको बिबाहमा ब्यस्त भएका बेला रातको समयमा पिच गरे । अनि अस्ति बुधबार पनि गाउँलेहरु अर्को बिबाहमा ब्यस्त भएको मौका पारी राती नै पिच भएको छ’, स्थानीय सुजन गर्तौलाले भने, ‘गाउँलेहरु अरु काममा ब्यस्त भएको मौका पारेर, बेलुका छ बजेदेखि पिच सुरु हुन्छ । मान्छे अरु काममा ब्यस्त भएको मौका पारी राती पिच गर्नुको कारण के हो ?’ सडकको दायाँबायाँ नालामा झाडी छ । कालोपत्रे बुर्रबुर्र उप्किएको छ ।

सांसद हरिशरण आचार्य र गोरखा नगरपालिकाका मेयर राजनराज पन्त तथा उपमेयर बिनाकुमारी श्रेष्ठले अनुगमन गरेपछि ठेकेदारले ठाउँठाउँमा टाल्न सुरु गरेका छन् । प्राविधिकले एककरोड लागत अनुमान गरेको ठेक्का निर्माण कम्पनीले करिब ७० लाखमा सम्पन्न गर्ने गरी टेण्डर हालेको थियो । उक्त सडक भएर साविकको देउराली, मिरकोट, धुवाँकोट, गाईखुर, च्याङ्ली गाविसका सर्वसाधारण आउजाउ गर्छन । उक्त सडक गोरखा नगरपालिकाको १३ नम्बर वडा हुँदै पालुङटार नगरपालिकाको केन्द्र जोड्ने मूख्य मार्ग हो ।

प्रतिक्रिया दिनुहोस्