
आरुघाट क्षेत्रको जग्गा वर्गीकरण तथा मुआव्जा पुनरावलोकनका लागि पहल गर्ने सहमति
बूढीगण्डकी आयोजनाका कारण डुबानमा पर्ने आरुघाट, आर्खेत, विशालनगर र खहरे बजार क्षेत्रको हालै निर्धारित जग्गा बर्गीकरण र मुआव्जा निर्धारणको निर्णय पुनरावलोकनका लागि गृहमन्त्रालयलाई अनुरोध गर्ने समझदारी भएको छ । मंगलबार सम्पन्न उर्जा तथा जलस्रोत मन्त्रालय र गोरखा र धादिङका प्रतिनिधिसभा, राष्टिूय सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधि, बूढीगण्डकी जलविद्युत आयोजना सरोकार समिति बीच मंगलबार सम्पन्न बैठकमा जग्गा बर्गीकरण र मुआव्जा निर्धारणको निर्णय अव्यवहारिक भएको ठहर गर्दै पुनरावलोकन गर्न गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको बैठकमा सहभागी पूर्व सांसद चिनकाजी श्रेष्ठले जानकारी दिए ।
‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको जनप्रतिनिधि, नेता सरोकार समिति सबैले उर्जामन्त्रीसमक्ष जग्गा बर्गीकरण र मुआव्जा निर्धारण न्योचित नभएको भनेर एउटै धारणा राखेपछि अन्तिममा पुनरावलोकनका लागि गृहमन्त्रालयलाई अनुरोध गर्ने भनेर समझदारी भएर बैठक टुङ्गियो ।’
साथै बैठकमा राष्टिूय गौरवको योजना बूढीगण्डकी जलविद्युत आयोजना सम्पन्न गर्न सबैले आ(आफ्नो ठाउँबाट सहयोग गर्नेलगायत चारबुँदे सहमति भएको बैठकमा सहभागी आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले जानकारी दिए । ‘पुनर्वास र पुनस्थापनाको कामलाई द्रूत गतिमा अघि बढाउने, रास कट्टी र लाभकर नलिनका लागि गृहमन्त्रालयलाई अनुरोध गर्ने पनि सहमति भएको छ’, उनले भने, ‘बुधबार मुआव्जा पुनरावलोकनका लागि गृहमन्त्रालयमा निवेदन दिने पनि सहमति भएको छ ।’
डुबानका कारण सबै घरजग्गा गुमाउनेहरुको हकमा पुनर्वासका लागि चार आनासम्म जग्गा उपलब्ध गराउन सकिने बारे उर्जामन्त्रीले छलफल गरेको उनले बताए । सो बैठकका सहभागीहरु निर्णय गर्ने निकाय नभएकाले सबै प्रस्ताब निर्णयका लागि अनुरोध गर्ने सहमति भएको उनले बताए । बैठकमा प्रतिनिधि सभाका सांसद बाबुराम भट्टराई, राष्टिूय सभाका सांसद सुरेन्द्रराज पाण्डे, प्रतिनिधि सभाकै सांसदहरु हरि अधिकारी, भूमि त्रिपाठी, खेम लोहनी सहभागी थिए ।
त्यस्तै पूर्व उपप्रधानमन्त्री तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, सांसद चुडामणि खड्का, प्रदेश मन्त्री रामशरण बस्नेत, पूर्व सांसद कृष्ण धिताल, दुवै जिल्लाका पूर्व मन्त्री तथा पूर्व सांसदहरु, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भू थापा, जिल्ला समन्वय समितिका गोरखाका सदस्य राजु गुरुङ र धादिङ का सदस्य कमलनारायण श्रेष्ठ, बूढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिका संयोजकद्वय दिनेश ढकाल र जगनाथ खनाल, सदस्य सुदीप धरेल, वडाअध्यक्ष हरु कृष्ण धमला, दिलबहादुर रोका, कृष्ण खत्री, देवेन्द्र धरेल बैठकमा सहभागी थिए ।




