
पालुङ्टार ९ मा जहाँतहीँ काठेपोलै काठेपोल
काठेपोलमुक्त जिल्ला बनाउनका लागि विद्युत प्राधिकरण, गाउँपालिका, नगरपालिका, जिल्ला समन्वय समिति तथा सांसदहरु लागि परेका छन् । पालुङ्टार नगरपालिका वडा नं. ९ मा भने अझै पनि काठेपोलकै भरमा विद्युत वितरण भइरहेको छ ।
‘सिस्नेरीटोल, रिपथोक, भोर्ले, सानाबेशी, कुसुण्टार, छेरेक, सेरा, छहरे सबैतिर काठेपोलै काठेपोल छ’, स्थानीय कलाकार राना भन्छन्, ‘हाम्रो सिस्नेरीटोलमा मात्रै ५० वटा काठेपोल छ ।’ १५ बर्षदेखिको काठेपोल बिस्थापित नहुँदा कोही ढल्किएका, कोही भाँच्चिने अबस्थामा पुगेका उनले बताए । सामान्य हावाहुरी चल्दा पनि काठेपोल ढल्ने अबस्थामा रहेका उनले बताए । ‘यी सबै पोल १५ बर्षअघि गाडिएका हुन् । धमिराले खाएर अहिले कोही ढल्न लागेका, कोही भाँच्चिन लागेका छन्’, उनले भने, ‘पानी पर्दा, हावाहुरी चल्दा ढल्ने, हप्तादिनसम्म लाइन अबरुद्ध हुने गरेको छ ।’
गाउँघरमा घरदैलो गर्दा सबैले काठेपोल बिस्थापित गर्न माग गर्ने गरेको वडा अध्यक्ष भेजराज पाण्डे बताउँछन् । ‘हाम्रो वडामा सबैभन्दा ठूलो समस्या नै काठेपोलको छ’, पाण्डेले भने, ‘धेरै टोल छन् । छरिएको बस्ती छ । पोलको माग धेरै छ । आपूर्ति थोरै छ ।’ विद्युत प्राधिकरण र नगरपालिकासंग पोलको माग गरिरहेको उनले बताए । ‘हाम्रो वडामा करिब १२ सय वटा मेटल पोल माग गरेको छु’, वडाअध्यक्ष पाण्डेले भने, ‘चालु बर्ष जम्मा ५० वटा मात्र पोल प्राप्त भएको छ । यो कहाँ बाँड्ने, कहाँ नबाँड्ने ?’
पालुङ्टार नगरपालिकामा डाँडाकाँडामा छरिएको बस्ती भएकाले काठेपोल बिस्थापन गरी मेटलपोल पु¥याउन कठिन भएको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । ‘काठेपोलको समस्या छ । हामीले काठेपोलमुक्त नगरपालिका बनाउनका लागि पहल पनि गरिरहेका छौं’, मेयर कँडेलले भने, ‘गतबर्ष एकहजार फलामेपोल गाड्यौं । यसबर्ष पनि सिचाइँ कार्यालयसँग दुईहजार थान पोल माग गरेका छौं । सम्भवत ः यसबर्ष काठेपोलमुक्त नगरपालिका बनाउन पाइन्छ होला ।’
जिल्लालाई नै काठेपोलमुक्त बनाउने अभियानमा लागिरहेकाले सो ठाउँका लागि पनि आवश्यक फलामेपोल वितरण गर्ने विद्युत प्राधिकरण, गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । ‘यो बर्ष नै हामी जिल्लालाई काठेपोलमुक्त घोषण गर्ने अभियानमा छौं’, उनले भने, ‘जिल्ला भर मेनलाइनका लागि पाँचसय थान फलामे पोलको खाँचो रहेको छ । त्यस्तै बिभिन्न शाखा लाइनका लागि सातहजार फलामे पोल आवश्यक पर्ने हाम्रो अनुमान छ । ती पोलहरु पनि हामी यही बर्षभित्र बिस्थापन गरी काठेपोलमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखेर काम गरेका छौं ।’
अहिले विद्युत प्राधिकरणले अजीरकोट र बारपाकसुलीकोटसम्म केन्द्रीय प्रशारणको लाइन विस्तार गरिरहेको छ ।




