
आरुघाटमा जारी आन्दोलन स्थगित, मुआव्जा पुनरावलोकनका लागि उजुरी दिने, गृह र उर्जा मन्त्रालयसंग वार्ता गर्न समिति गठन
हालै निर्धारित मुआव्जाप्रति असन्तुष्ट आरुघाट, आर्खेत, विशालनगर तथा खहरे बजारबासीको आन्दोलन हाललाई स्थगित भएको छ । आन्दोलनलाई काठमाडौं केन्द्रीत गर्ने र आइतबारदेखि बजार खुलाउने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य राजु गुरुङले जानकारी दिए ।
‘जग्गा बर्गीकरण तथा मुआव्जा निर्धारणको निर्णयले आरुघाट, आर्खेत, विशाल नगर, खहरे क्षेत्रका स्थानीयबासी, जनप्रतिनिधि, सरोकार समितिलाई र राजनीतिक दल सम्पूर्णलाई गत मंसीर १६ गतेदेखि आन्दोलन बनाएको थियो’, जिल्ला समन्वय समिति गोरखाका सदस्य राजु गुरुङ र समन्वय समिति धादिङका सदस्य कमल नारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आइतबारदेखि सो आन्दोलनको कार्यक्रमलाई काठमाडौं केन्द्रीत बनाई वार्ता र संवादलाई निरन्तरता दिने र स्थानीय तहमा भएको आन्दोलनको कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरियो ।’
दुई जिल्लाका समन्वय समितिका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले गृहमन्त्रालयमा उजुरी दिने निर्णय भएको समन्वय समितिका सदस्य गुरुङले बताए । ‘शनिबार सम्पन्न संयुक्त बैठकले जग्गा प्राप्ति ऐन २०३४ को दफा २५, उपदफा ७ मा ब्यबस्था भए बमोजिम उजुरी दिने निर्णय भएको छ ।’ सो दफा उपदफामा ‘मुआब्जामा चित्त नबुझ्ने व्यक्तिले क्षतिपूर्ति वा मुआब्जा निर्धारण भएको सूचना जारी भएको मितिले पन्ध्र दिनभित्र सरकार, गृह मन्त्रालय समक्ष उजूर गर्न सक्नेछ’ भन्ने उल्लेख छ ।
शुक्रबारको बैठकले गृहमन्त्रालय र उर्जा मन्त्रालयमा वार्ताका लागि समिति गठन गरेको छ । दुवै जिल्लाका प्रतिनिधिसभा, राष्टिूय सभा तथा प्रदेश सभाका सांसद, तथा गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरु, सरोकार समितिका संयोजक सम्मिलित वार्ता समिति गठन गरेको आरुघाट गाउँपालिका का अध्यक्ष पूर्ण दाहालले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि सभाका सांसद बाबुराम भट्टराई, राष्टिूय सभाका सांसद सुरेन्द्रराज पाण्डे, प्रतिनिधि सभाकै सांसदहरु हरि अधिकारी, भूमि त्रिपाठी, खेम लोहनी वार्ता समितिमा रहेका छन् । त्यस्तै नेता नारायणकाजी श्रेष्ठ, दुवै जिल्लाका पूर्व मन्त्री तथा पूर्व सांसदहरु, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भू थापा, जिल्ला समन्वय समितिका गोरखाका सदस्य राजु गुरुङ र धादिङका सदस्य कमलनारायण श्रेष्ठ सम्मिलित छन् ।
त्यस्तै बूढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिका संयोजक दिनेश ढकाल र जगनाथ खनाल, सदस्य सुदीप धरेल, वडाअध्यक्षहरु कृष्ण धमला, दिलबहादुर रोका, कृष्ण खत्री, देवेन्द्र धरेल पनि समितिमा रहेका छन् ।





