| आइतवार, कार्तिक २२, २०८३

बूढीगण्डकी डुबानमा पर्ने आरुघाटलगायत बजार क्षेत्रको मुआव्जा तोकियो, आरुघाटमा आन्दोलन सुरु

 

बूढीगण्डकी डुबानमा पर्ने गोरखाको आरुघाट र धादिङको विशालनगर तथा खहरे बजार क्षेत्रको मुआव्जा निर्धारण भएको छ । तीनबर्षसम्म घरजग्गा किनबेच, धितो जमानत रोक्का गरेपछि आइतबार राती मुआव्जा निर्धारण गरिएको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइ कार्यालयले जनाएको छ ।

गोरखा र धादिङ जिल्लाको मुआव्जा निर्धारण समितिको आइतबार रातीको संयुक्त बैठकले दुवै जिल्लाको एकहजार सातसय ६४ रोपनी जग्गाको मुआव्जा आइतबार राती निर्धारण गरेको इकाइले जानकारी दियो । गोरखाको आरुघाट क्षेत्रको पाँचसय ३७ रोपनी, आर्खेत क्षेत्रको ७२ रोपनी, धादिङको खहरेको दुईसय ४५ र विशालनगरको नौ सय १० रोपनी जग्गाको मुआब्जा निर्धारण गरिएको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइ कार्यालयले जनाएको छ ।

आर्खेत बजार क्षेत्रको मुआव्जा आनाको न्यूनत्तम ५० हजारदेखि आरुघाट क्षेत्रको जग्गाको अधिकत्तम सातलाख रुपैयाँसम्म निर्धारण गरिएको निर्धारण समितिका एक सदस्यले जानकारी दिए । आरुघाट बजारक्षेत्रको जग्गालाई नौ भागमा र आर्खेत बजार क्षेत्रलाई दुई भागमा बर्गीकरण गरी मुआव्जा निर्धारण गरिएको उनले बताए ।

मुख्य सडकमार्गमा पर्ने, सहायक सडकमार्गमा पर्ने, शाखा बाटोले छोएको, शाखा बाटो र मोटरबाटोले नछोएकोलगायतका पक्षलाई आधार मानेर मुआब्जा तोकिएको स्रोतले जनाएको छ ।

मुख्य बजार (क) मुख्य सडकको पुरानो बजार पस्ने मोटर बाटो देखि प्रहरीचौकी हुँदै बुढीगण्डकीको पक्की पुल जाने चोकसम्म दायाँ बायाँका घडेरीसाथै अकला चोकदेखि १४० मिटर उत्तर जाने सडकको दायाँ बायाँका घडेरी जग्गाको सात लाख रुपैयाँ मुआव्जा तोकिएको छ । त्यस्तै मुख्य बजार (ख) बुढीगण्डकीको पक्कीपुल जाने चोकदेखि पुलचोक, हाकिम चोक, क्याम्पस चोक हुँदै अस्पताल चोक र बुढीगण्डकी पुल जाने चोकदेखि बुढीगण्डकीको पक्कीपुलसम्मको मुख्य सडकका दायाँबायाँ घडेरी जग्गाको रु. छ लाख पचास हजार, मुख्य बजार (ग) मध्य पहाडी लोकमार्गको पक्कीपुल (स्थुल खोलाको पुल)देखि भन्ज्याङ हुदै प्रहरीचौकीसम्मका दायाँ बायाँका घडेरी र फिल्महलदेखि विद्युतचोकसम्मका दायाँ बायाँका घडेरीको रु छ र मुख्य सडक (घ) अस्पतालचोकदेखि चापपानी खोलासम्म मुख्य सडकका दायाँ बायाँको जग्गाका लागि रु तीनलाखका दरले मुआव्जा निर्धारण भएको इकाइ कार्यालयले जनाएको छ ।

त्यस्तै शाखा सडक (क) विद्युत चोकको पछाडि तर्फको टोलदेखि कार्कीचोकसम्मको मोटर जाने सडकका दायाँ बायाँका घडेरी जग्गाको रु. पाँच लाख ५० हजार, शाखा सडक (ख) अकला अन्नपूर्ण चोकको १४० मिटर उत्तरको विन्दुवाट बुढीगण्डकी पक्की पुल जाने बाटोसम्मको सडकको दायाँ बायाँ र हस्पिटल चोकबाट बूढीगण्डकी पक्कीपुल तर्फ आउने खोला किनार छेउको बाटोको दाँयाँ बाँयाँको घडेरी तथा जग्गाहरुको रु चार लाख ५० हजारका दरले मुआव्जा निर्धारण भएको इकाइ कार्यालयले जनाएको छ ।

अन्य शाखा बाटोको दायाँबायाँका घडेरी तथा जग्गाहरुको प्रतिआना रु चार लाख, गोरेटो बाटोको दायाँ बायाँका जग्गाहरुको प्रतिआना रु दुई लाख, तथा मुख्य सडक १ क र १ खका सडकबाट ६० फिट पछिका थप ६० फिट पछिका घडेरी जग्गाहरुको मुआव्जा रु.दुईलाख ५० हजार, ४ क मा उल्लेखितभन्दा बाहेक अन्य सवै ६० फिट पछिका जग्गाहरुको रु.५० हजार तोकिएको छ । त्यस्तै मोटर बाटोको दायाँबायाँ ६० फिट लम्बाई (पिछड) भएका घडेरी र घर भएका जग्गाहरुकोरु.एकलाख २० हजार निर्धारण गरिएको छ ।

त्यस्तै आर्खेत बजार क्षेत्रका डुवानमा पर्ने जग्गाहरुको प्रतिआना रु. पचास हजारका दरले मुआव्जा निर्धारण गरिएको इकाइ कार्यालयले जनाएको छ ।

यससंगै १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना को डुबानमा पर्ने जग्गाको मुआव्जा निर्धारण कार्य सकिएको छ । गोरखाका साबिक १४ गाविस र धादिङका साबिक १३ गाविस गरी २७ गाविसको डुबान प्रभावितको मुआव्जा निर्धारण सम्पन्न भइसकेको इकाइले जनाएको छ ।

यसअघि ४४ हजार छ सय ५८ रोपनी जग्गाको मुआव्जा २०७३ सालको मंसीर महिनामा नै निर्धारण भएर वितरण भइसकेको थियो । सो जग्गाको २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको इकाइ कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा सरकारले बुढीगण्डकी आयोजनाका लागि १४ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
घरगोठ, बोटबिरुवाको मुआव्जा भने निर्धारण गरिएको छैन ।

आरुघाटबासी आन्दोलित

बुढीगण्डकी आयोजनाले तोकेको मुआब्जा रकम कम भएको भन्दै गोरखाको आरुघाटका बासिन्दाले बजार बन्द गरेका छन् ।
हालै निर्धारण भएको मुआव्जाप्रति असन्तुष्ट आरुघाट, आर्खेतबासीले बजार बन्द गरेर आन्दोलन सुरु गरेका हुन् । सोमबार बजार बन्द गरेर दर्जन भन्दा धेरै ठाउँमा टायर बालेर प्रदर्शन गरेका स्थानीय अर्जुन श्रेष्ठले जानकारी दिए ।

आयोजनाले गरेको मुआब्जा निर्धारण आफूहरुको मागभन्दा निकै कम भएको भन्दै स्थानीय बासिन्दाले वजार बन्द गरी आन्दोलन सुरु गरेका छन् । चोकचोकमा जम्मा भएका आरुघाटवासीले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले पुरानो व्यापारिक केन्द्र, गोरखा हुँदै चीन जाने सडक र मध्यपहाडी लोकमार्गले समेत जोडेको बजारक्षेत्र भएकाले जग्गाको अवस्था अनुसार २५ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण हुनुपर्ने माग गर्दै आएका थिए । तर जिल्ला मुआब्जा निर्धारण समितिले आनाको अधिकतम ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको छ ।

सोमबारदेखि बजार, यातायात, सरकारी कार्यालय, विद्यालय लगायत सेवाहरु अनिश्चितकालीन बन्द गर्ने निर्णय भएको श्रेष्ठले बताए ।
आरुघाटबासीले प्रति आनाको १५ लाख रुपैयाँसम्म मुआव्जा निर्धारण गर्न बिगत लामोसमयदेखि माग गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्